एसपीपी पास नगरेकै कारण प्रधामन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको वागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको हो ।

उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनु भयो । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताउनु भयो ।

उहाँले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गर्नुभयो । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताउनु भयो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताउनु भयो । उहाँले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले अमेरिका नाटो र इण्डोप्यासिफिको संयन्त्रद्वारा रुस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको बताउनु भयो । उहाँले चीन र रुसले पनि अमेरिकालाई जवाफ दिन आफ्नो सैन्य शक्ति बढाउने काम गरिरहेको र हातहतिया खरिद गर्ने र निर्माण गर्ने काम गरिरहेको भन्दै अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल छ । नाटोको बिस्तार भएको भएकै छ । रुसलाई घेराबन्दी गर्ने र नाटोमा नयाँ सदस्य थप्दै युक्रेनलाई नाटोको सदस्य बनाएर रुसलाई घेराबन्दी गरी समाप्त पार्नेगरी अमेरिका अघि बढीरहेको छ । इण्डोप्यासिफिक रणनीति अघि सारेर जापान र अष्ट्रेलियालाई साथमा लिएर भारतलाई पनि साथमा लिएर चीन र उत्तर कोरियालाई समाप्त पार्ने नीति लिएर अमेरिका अघि बढीरहेको छ । यतिबेला चीन र रुसले पनि जस्तालाई त्यस्तै जवाफ दिन्छु भनेर अघि बढेको छ ।’

अध्यक्ष नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताउनु भयो । उहाँले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उसचत नभएको बताउनु भयो ।

अध्यक्ष नेपालले अहिले निर्वाचनको परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रुपमा रहेको बताउनु भयो । सोही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्शान भोगिरहेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले अझैपनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको र त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानरगपालिकामा देखिएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?