प्रदीप गिरिप्रतिको साँचो श्रद्धाञ्जलि

Read Time = 14 mins

✍️ मेघनाथ दाहाल
जन्म र मृत्यु जीवित प्राणीको हकमा साथसाथै आएका दुई अभिन्न तत्वहरू हुन् । सौर्यमण्डलमा पनि पृथ्वीलोकमा मात्र आजका दिनसम्म जीवित प्राणी विद्यमान भयको प्रमाणित भएको छ । जन्म र मृत्यु सम्पूर्ण जीवितहरूको हकमा शाश्वत सत्य हो । मृत्युलाई न त पर धकेल्न सकिन्छ न त यसबाट भाग्नमात्र पनि सम्भव छ । खाली कहिले र कुन परिवेशमा मात्र हो भन्ने कुराले मात्र अर्थ राख्ने गर्दछ । यदि मृत्यु कसैको बसमा हुँदो हो त समय समयमा उदाउने व्यक्ति विशेष जसले आर्थिक सामाजिक, राजनीतिक, हातहतियार तथा प्रविधिको क्षेत्रमा अधिपत्य जमाएर पनि खुसुक्क कसैले थाहा नपाइकन यस लोकबाट बिदा लिनुपर्ने थिएन ।

विश्वका धनी खर्बौंपति व्यापारीहरू, संसारलाई आफ्नो आविष्कारले चामत्कारिकता प्रदान गर्न सफल वैज्ञानिक, हातहतियार तथा सैन्य शक्तिहरूले शक्तिशाली व्यक्ति तथा समूह तथा राजनीतिक तथा आफ्नो चमत्कारिक व्यक्तित्वले मानव समुदायमाथि राज गर्न सफल व्यक्ति तथा समूहले यस तीतो सत्यसँग साक्षात्कार नभइकन यो मानव जीवनले मोक्ष प्राप्त गर्न सक्दैन । मृत्युलाई सहज स्वीकार गर्ने थोरैमध्येको हुनुहुन्थ्यो, आदरणीय प्रदीप दाइ । व्यक्तिगत रूपमा उहाँसँग मेरो कुनै सम्बन्ध हुन सकेन तर भावनात्मक हिसाबमा हामी धरै टाढा थिएनौँ ।

विसं २००४ मा तराईको एक सम्भ्रान्त परिवारमा जन्मिएर नेपाल, नेपाली तथा उनीहरूको खुशीका लागि विगत पाँच दशकदेखि अनवरत लागेर पूर्णतः राजनीतिक रूपमा लागि परेका नेपाली कांग्रेसका नेता तथा सम्पूर्ण नेपालीहरूका आत्मीय व्यक्तित्वलाई भौतिक रूपमा अब हामीले पाउने छैनौँ । नेपालको दलीय राजनीति तथा राजनीतिक गतिवधिमा सदा बीपीसँग अत्यन्त नजिक भएका गिरी कहिल्यै पनि जीपीसँग नजिक हुन चाहेनन् र सकेनन् पनि । नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू सुवर्णशमशेर, कृष्णप्रसाद, गणेशमान तथा शेरबहादुरसँगको अत्यन्त निकटस्थ रहेर राजनीतिक जीवन बिताए । गिरि जीवनभर कांग्रेसमा प्रजातान्त्रिक धारको श्रीवृद्धिमा लागिरहे ।

प्रजातान्त्रिक विधिमा पनि सदा समाजवादी दृष्टिकोणका साथ सडक, सदन तथा नेपाली समुदायहरू माझ वकालत गरिरहे । सधैं साँचो समाजवाद र यसको उपयोग समाजको तल्लो तहतप्का तथा सीमान्तीकृत दलित, महिला, मधेसी तथा जनजातीहरू माझ गर्न सकेमा मात्र नेपालले सही मानेमा काँचुली फेर्ने कुरामा जीवनभर अडिग रहे र सोही लाइनमा काम गरिरहे ।

नेपालमा पञ्चायतको चकचकी थियो । उता वनारस बसाइमा बीपीसँगको अत्यन्त नजिकपनले उनलाई एक किसिमको राजनीतिक संस्कार, विचार निर्माण तथा संगठनको आवश्यकता तथा उचाइ प्राप्त गर्न एकसाथ काम गरेको थियो । यसमा उनलाई स्वयंको विलक्षण बौद्धिकताले साथ दिएको थियो ।

प्रदीप गिरि तराईको सम्भ्रान्त परिवारमा जन्मिएर पनि होला, आमनेपाली भन्दा अली सजिलो हिसाबमा स्वास्थ्य, शिक्षा तथा आधारभूत मानवीय सुविधाहरूको पहुँचमा आफ्नो बाल्यकाल बिताउने थोरै भाग्यमानी नेपालीहरू मध्ये पर्दछन् । हालको सिरहा जिल्लाअन्तर्गत बस्तीपुरमा जन्मिएर प्रारम्भिक शिक्षा स्थानीय स्कुलबाटै लिएका गिरि कक्षा दशपछिको शैक्षिक उन्नयनका लागि काठमाडौंस्थित अस्कल कलेजमा आइपुगेका थिए । तर, विज्ञानको रसले उनलाई धेरै समय काठमाडौंमा राख्न सकेन । उनी वनारसतिर सुटुक्क हुँइकिए । वनारसको विएचयुमा अध्ययनरत हुँदै उनमा राजनीतिक पंख लाग्यो जब उनले बीपीसँगको सानिध्यता प्राप्त गर्ने शौभाग्य पाए ।

सोही समयमा यता नेपालमा पञ्चायतको चकचकी थियो । उता वनारस बसाइमा बीपीसँगको अत्यन्त नजिकपनले उनलाई एक किसिमको राजनीतिक संस्कार, विचार निर्माण तथा संगठनको आवश्यकता तथा उचाइ प्राप्त गर्न एकसाथ काम गरेको थियो । यसमा उनलाई स्वयंको विलक्षण तिक्ष्ण बौद्धिकताले साथ दिएको थियो । यसको साथै उनको ज्ञान आर्जनको जुन भोक थियो यसले उनलाई आजको रूपमा ल्याउन मद्धत पु¥याएको थियो । वनारसको ग्य्राजुएसनपछि उनी दिल्लीको जेएनयुतिर लागे । यस नयाँ परिवेशले उनलाई ज्ञान आर्जनमात्र नभएर सिर्जना गर्न धेरै मद्धत गरेको थियो । जेएनयुको अत्यन्त बौद्धिक वातावरण तथा स्वयं व्यक्तिमा निहित क्षमताले उनलाई एक राजनीतिकर्मी मात्र नबनाएर मार्कसिष्ट, लेनिनिष्ट, सच्चा समाजवादी, कर्मठ प्रजातन्त्रवादी तथा समाजको तल्लो तह तथा तप्काका मानिसहरूको भलो चिताउने एक सरल, सहज तथा अत्यन्त मिलनसार नागरिकको रूपमा उदाउन मद्धत गर्‍यो ।

जीवनभर प्रजातान्त्रिक विधि, पद्धति तथा मानवाधिकारको पक्षमा वकालत गरे तर कहिल्यै आफ्नो दलको संस्थापन पक्षको नेता तथा कार्यकर्ता बन्ने चाहना राखेको देखिएन । व्यक्तिगत स्वतन्त्रता, नैसर्गिक अधिकार तथा प्रजातन्त्र भनेको मानिसहरूको जन्मजात मौलिक अधिकार हो भन्ने पक्षमा संगठित हुन सधैं तत्पर तर प्रजातान्त्रिक माझभन्दा लेफ्टहरूमाझ अझ लोकप्रिय हुन पुगे । मुलुकमा नक्कली समाजवादीको बिगबिगी भएको समयमा साँचो समाजवादी चाहिँ उनीमात्र बन्न पुगे । यसले गर्दा उनलाई प्रजातान्त्रिक दलको सदस्य तथा कम्युनिष्ट दलहरूको शुभेछुक बढी भएको जस्तो गरेर चिनियो । आफ्नो ७५ वर्षीय जीवनमा लगभग पूरा पचास वर्ष जति राजनीति, जनता, समाज, तथा समाजको तल्लो तह तथा तप्कामा सरकारले गर्नुपर्ने दायित्वको पाठ पढाउँदैमा उनको समय सकियो । नियतिभन्दा माथि र समयभन्दा अगाडि को पो हुन सक्दछ र अब उनलाई भौतिक रूपमा हामीमाझ नभेटिए तापनि उनको बाटो, लक्ष्य, तरिका तथा सोचलाई समात्न तथा पछ्याउन सक्ने थोरैमात्र व्यक्ति तथा समूहको उत्पादन कुनै तह तप्का दल तथा समुदायमा हुनसकेमा मात्र सच्चा श्रद्धाञ्जलि हुनेथियो ।

नेपाली कांग्रेसलाई नितान्त प्रजातान्त्रिक राजनीतिक दल बनाउने कुरामा हरेक पल डटेर सामना गर्नुभयो । यस क्रममा सधैं समाजको तल्लो तह तथा तप्कामा राजनीति केन्द्रित हुनुपर्दछ भन्ने नै उहाँको जोड छ । हाम्रा विविध नीतिगत व्यवस्था जसरी भए पनि समाजको अत्यन्त तल्लो वर्गको हितको पक्षमा हुनुपर्दछ भन्ने मान्यता राख्ने एक शिखर पुरुष हुँदाहुँदै अन्तन्तः साधारण तर विलक्षण बौद्धिकताका साथ आफ्नो पूरा जीवन एउटा बेग्लै परिचयका साथमा भौतिक रूपमा सदाका लागि हामीमाझबाट बिदा हुनुभएको छ । नेपाली कांग्रेसमा बीपीपछिको बीपीसँगै तर्कमा तर्क गर्ने राजनीतिक विषयवस्तुमा फरक मत राख्न सक्ने व्यक्तित्वको रूपमा उनलाई लिने गरिन्छ । उनले कहिल्यै दलको संगठन गरेनन् तर संगठनमा ज्यान फालेर लाग्नेहरूभन्दा बढी काम विचार निर्माण तथा सो विचार आमजनतामाझ पु¥याउने काममा सदा दत्तचित्त भएर लागिरहे । उनको अस्तव्यस्त एवं अव्यवस्थित जीवनमा न लोभ न मोह न आशक्ति न त कसैकाप्रति द्वेष तथा आग्रह तथा पूर्वाग्रह नै राखेको पाइयो । यस हिसाबमा प्रदीप दाइ एक फकिरको जीवन तर संसारलाई हेर्ने तथा यसको बारेमा छुट्टै अर्थपूर्ण मान्यता राख्ने व्यक्तित्वको रूपमा रहनुभएको छ ।

छयालीस सालपछिको प्रजातान्त्रिक समयमा सम्पूर्ण राजनीतिक दल तथा समूहहरू सत्ता, साधन, तथा स्रोतको वरिपरिमात्र घुमिरहँदा मुलुकले धेरै नराम्रा गतिविधिको सामना गर्नुपरेको थियो । यस मामिलामा उनी सच्चा प्रजातन्त्रवादी तथा मानवाधिकारका लागि सकेसम्म लागिपरेका थोरै व्यक्तिमध्येमा पर्ने व्यक्ति हुन् । उनको परिभाषामा राजनीतिक जीवन भौतिक उपलब्धि र व्यक्तिगत तथा पारिवारिक सम्पन्नताभन्दा सदा सरल, सहज एवं जनताहरूको भलाइको हकमा केन्द्रित हुनुपर्दछ भन्ने मान्यतामा अडिग रहृयो । आज हाम्रो राजनीतिक संस्कारले हामीलाई कुन गन्तव्यमा पु¥याउन हिँडाइरहेको छ । राजनीति नेता तथा कार्यकर्ताको जीवनशैली, रवाफिलो लेफ्ट एवं प्रजातान्त्रिक दुवैको हकमा एकै किसिमले अत्यन्त महँगो र भड्किलो भएर गइरहेको छ ।

सानोभन्दा सानो एकाइमा चुनावमा भाग लिने कुनै राजनीतिक व्यक्तिको व्यक्तित्व तथा उसको सादगीपना तथा समाज र नागरिकका लागि उसमा भएको सच्चा प्रेमभन्दा उसको धनवान, डनवान, पहुँचवान तथा चाहिनेभन्दा नचाहिने कुराहरूमा कस्तो क्षमता छ भन्ने कुराले मात्र अर्थ राख्दछ । तर, अत्यन्त सम्भ्रान्त परिवारमा जन्मेर पनि सरल, सहज तथा आममानिसको दैनिकी तथा साह्रोगाह्रोमात्र नभएर भौतिक रूपमा उपस्थिति र मन मष्तिष्कमा बास बस्न सफल राजनीतिकर्मीका रूपमा उनलाई लिइने गरिन्छ ।

भारतीय संस्थापनले सन ९० को दशकमा उदारीकरणको प्रयोगलाई कानुनी मान्यता दिएपछि नेपालमा पनि यसको प्रयोग अपरिहार्य जस्तो थियो । यसै मेसोमा हामीले उदारवादी आर्थिक नीति अंगीकार गरेका हौँ । हालसम्म मिश्रित अर्थतन्त्रअन्तर्गत यसलाई मुख्य आर्थिक नीतिको रूपमा लिएका छौँ । नेपालको हकमा आठौं योजनापछिको हाम्रो राजनीतिक-आर्थिक नीतिप्रति गिरिको धेरै सहमति थिएन । उनी लगभग शास्त्रीय समाजवादी दृष्टिकोणमा जीवनको अन्त्यसम्म अडिग रहे भने मुलुकल यस मानेमा फड्को मारेको छ ।

र अन्तमा, माओवादीहरूको ज्याजति अत्यन्त भएको समयमा यसलाई राजनीतिक वा गैरराजनीतिक सशस्त्र मुद्दा हो भन्ने कुरामा समेत उनी पार्टीभित्रै आलोचित बने । माओवादीहरूको मुद्दा नितान्त राजनीतिक तथा सर्वसाधारणको हितमा रहेको कुरालाई स्थापित गर्ने गैरमाओवादीमध्ये यिनलाई लिने गरिन्छ । भनाइको तात्पर्य समाजको तल्लो तह–तप्कालाई राजनीतिक रूपमा माथि नउकासी समाज तथा लोकतान्त्रिक विधिमाथि जान नसक्ने कुराले उनलाई दार्शनिक, विद्वान्, राजनीतिक नेताभन्दा पनि नेपाल र नेपालीमात्रको भलाई चिताउने नेताको रूपमा लिन सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने देखिन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2022-08-31 9:23 am

सुन्दर भाव र शब्दालवली भएकाे लेख सुन्दर शब्दब्रह्मका उपासक प्रदीप गिरिलाई संझेर पुनीत कर्म भएकाे नष्कर्षमा पुगें ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?