धनुषाका तत्कालीन सिडिओ गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ बिगो मागदाबी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा धनुषाका तत्कालीन सिडिओ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर आरोपपत्र दायर गरेको हो ।

धनुषाको भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जगामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार गरेको उनीहरूविरुद्ध उजुरी परेको थियो । उजुरी छानबिन गर्दा सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरूले बदनियतसाथ एक करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

पूर्व–सिडिओ गौतममाथि एक करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार ऐनबमोजिम कैद सजाय र असुलउपर गर्न माग दाबी गरिएको छ । प्रचलित कानुनी व्यवस्थाविपरीत मोही कायम हुनै नसक्ने व्यक्तिहरूलाई बदनियत साथ मोही कायम गराई मुआब्जा वितरण गरेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी, मुआब्जा रकम बुझ्ने गायत्री देवी जयसवाल र निजका छोरा शत्रुधन जयसवालविरुद्ध पनि ८९ लाख ८३ हजार ३३४ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । यसैगरी, उपेन्द्रलाल कर्ण कायस्थ तथा मनोजलाल कर्णविरुद्ध पनि २४ लाख ८३ हजार ३३३ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादी सूर्यनारायण लाल कर्णविरुद्ध २४ लाख ८३ हजार ३३३ रुपैयाँ, धनुषा जिल्ला अदालतका तत्कालीन तामेल्दार डिठ्ठा हविव साह, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसाय गर्ने प्रमोदकुमार कर्णविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?