हिसान दौडमा विकेश र हृदय पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो हुनुभएको छ । ब्वाइजमा विकेश र गल्र्समा हृदय चार किलोमिटर दूरीको दौडमा पहिलो हुनुभएको हो ।

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोस्रो तथा पिनाकलकै नकुल घर्ती तेस्रो हुनुभयो । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौँ र जोसेफका अमित बोहरा छैटौँ हुनुभयो ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित दौडको गल्र्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोस्रो तथा भेनसकी सुकलामा तामाङ तेस्रो स्थानमा रहनुभयो । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौँ स्थानमा दौड टुंग्याउनुभयो ।

ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार हात पार्नुभयो । चौथोदेखि छैटौँ हुनेले सान्त्वना स्वरूप जनही एक हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

दौडमा करिब तीन सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । ‘लेट्स रन टुगेदर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन पनि खेलकुदमन्त्री लिम्बूले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?