हुण्डी कारोबारी अग्रवालबाट ७४ लाख जफतको मागसहित मुद्दा दायर, दुईजनाविरुद्ध अनुसन्धान जारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । भारतको राजस्थान शिखर जिल्ला देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल भनिने राजेन्द्रकुमार साउन २३ गते काठमाडौं महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेसनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग कार्यालय हरिहर भवनमा बुझाएको थियो । उनले चीनबाट सामान ल्याई विद्युतीय व्यवसाय गर्ने भनी कार्यालय खोलेर कर्मचारी राखेको तर बैंक खाता नखोली नगदै जम्मा गरी हुण्डीजन्य कारोबार गरेको विभागको आरोप छ । उनीबाट बरामद रकम जफत र सजाय दिलाउन मागदाबी गर्दै विभागले मुद्दा चलाएको छ ।

यसअघि प्रहरीले हुण्डी कारोबारी भएको आशंकामा तीनजनालाई ७४ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का २० वर्षीय रामहरि दुलाल र रौतहटको चन्द्रपुर नगरपालिका-४ का २४ वर्षीय सुदीप आचार्य रहेका थिए । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं नरदेवीबाट पक्राउ गरेको थियो । त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको चेक पनि बरामद गरिएको थियो । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन पठाइएको थियो । अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ भने बाँकी दुईजना दुलाल र आचार्यविरुद्ध अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?