खोलाले धानेको बालैवासीको जीवन

हिमालय टाइम्स
Read Time = 3 mins

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुना ननिकाली यहाँका बासिन्दाको बिहानबेलुकाको छाक टर्दैन । छायाँनाथ रारा नगरपालिका-६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्नुहुन्छ । बिहानै खोलामा पुग्ने उहाँ बेलुका अबेरमात्रै घर फर्किनुहुन्छ । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

भामबहादुरमात्रै होइन, बालैका अधिकांशको मुख्य रोजगारी नै खोलाको बालुवा निकाल्ने भएको छ । उज्यालो नहुँदै गाउँका अधिकांश युवा खोलामा पुगिसकेका हुन्छन् ।

यहाँका मानिसको मुख्य काम कृषि नै हो । परम्परागतरूपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू बालै खोलातिर झरेका हुन् । बालै गाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन् । जसका कारण गाउँमै बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न भामबहादुरसहित गाउँका युवा बालुवा संकलनमा होमिएका छन् । उनीहरू बालुवा बेचेर आर्थिक जोहो, जीविकोपार्जनमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ६० घरधुरीले नदी किनारमा बालुवा निकाल्ने स्थानसमेत भागबण्डा गरेका छन् ।

असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घरखर्च चलाउने, बालबच्चा पढाउने गरेको भामबहादुरले बताउनुभयो । यो सिजनमा एउटा परिवारले कम्तीमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको अर्का स्थानीय प्रेमबहादुरले सुनाउनुभयो । नदीबाट बालुवा निकालेर बिक्री गर्दा नगरपालिकालाई प्रतिट्याक्टर एक सय र बालै बगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रलाई तीन सय रुपैयाँ राजस्व तिर्ने गरेको भामबहादुरले बताउनुभयो । मध्यवर्ती क्षेत्रबाट १५ कात्तिकदेखि १५ जेठसम्म बालुवा निकाल्न पाइँदैन ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व लिने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?