सडक चौडा गर्ने निर्णयविरुद्ध उत्रिए धनगढीका व्यवसायी

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक विस्तार गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेपछि सडक क्षेत्रका घरधनी तथा व्यवसायी विरोधमा उत्रिएका छन् । धनगढी मुख्य बजार क्षेत्रमा ३० मिटर सडक क्षेत्राधिकार राख्दा धेरै परिवार घरवारविहीन बन्ने र कोरोनाका कारण घाटा बेहोर्दै आएका व्यवसायीले झनै संकट बेहोर्ने भएकाले सडकको क्षेत्राधिकार घटाउन व्यवसायीको माग छ । ‘धनगढीको मुख्य बजारलाई पुरानो बजारका रूपमा संरक्षण गरेर बाहिरी भागमा बजार बनाउँदा राम्रो हुन्छ,’ व्यवसायी हित्रिस मोहम्मद सिद्धिकीले भन्नुभयो, ‘बजारमा पाँच धुर जमिनमा घर बनाएर बसेकाहरूलाई घरबारविहीन बनाउने काम गर्नुहुँदैन ।’

व्यवसायीले सडक विस्तार गर्दा हुने समस्याका बारेमा जनप्रतिनिधिसँग छलफल गर्न व्यवसायी नेत्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिसमेत गठन गरेका छन् । ‘हामीलाई बेवास्ता नै गरेर अघि बढ्न खोज्नु मूर्खता हुनेछ,’ तदर्थ समितिका उपाध्यक्ष अर्जुन श्रेष्ठले भन्नुभयो, ‘समस्याको समाधान कसरी हुन्छ, त्यसबारेमा छलफल गरिनु आवश्यक छ, आधा कठ्ठा, पाँच धुर जमिनमा घर बनाएर बसेकाहरूको व्यवस्थापन नगरी सडक निर्माण हुन सक्दैन ।’

आफूहरू विकासविरोधी नभएको बताउँदै उहाँले सबै नागरिकको समस्या समाधान गरेरमात्रै सडक विस्तार गर्नुपर्ने बताउनुभयो । धनगढी बजार क्षेत्रबाहिर पनि व्यवस्थित सडक बनेको भन्दै उहाँले अब धनगढीमा बजार व्यवस्थापन गर्न समस्या नभएकाले सबैको रायअनुसार अघि बढ्दा राम्रो हुने बताउनुभयो । ‘मेयर साव निःस्वार्थ भावनाले धनगढीको विकास गर्न आउनुभएको छ, उहाँलाई हामी सहयोग गर्न पनि तयार छौं,’ उहाँले भन्नुभयो, ‘तर, सबैथोक विनाश हुनेगरी सहयोग गर्न सक्दैनौं, यस विषयमा गम्भीर बन्नुपर्छ ।’ उहाँले पूरै घर जाने र अन्त जमिनसमेत नभएका व्यवसायीलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय भएको बताउनुभयो ।

शनिबार धनगढीस्थित नैनादेवी मन्दिरमा भेला भएका अन्य व्यवसायीले भने अहिले सडक निर्माणको कामलाई अघि बढाउन उपयुक्त नभएको बताए । ‘कोरोनामा सबै व्यवयासी घाटामा गए,’ व्यवसायी नरेश साइजुले भन्नुभयो, ‘अहिले पनि व्यापार व्यवसायमा मन्दी आएको छ, बैंकको ब्याज तिर्न पनि सकिरहेका छैनौं, यस्तोमा सडक विस्तार गरेर व्यवसायीलाई विस्थापित गर्ने काम गर्नुहुँदैन, परिस्थिति सहज भएपछि मुख्य बजारको सडकका बारेमा सोच्नु उपयुक्त हुन्छ ।’

तदर्थ समितिको सचिवमा ठेकेन्द्रराज जोशी, सह–सचिवमा गोविन्दराज जोशी, सदस्यमा ठेकलाल श्रेष्ठ, अनुप उपाध्याय, प्रकाशजंग स्वाँर, आनन्द जोशी, कर्णबहादुर कुँवर, रूपबहादुर खड्का, शुशील शाह र रणबहादुर बोहरा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?