सिटीले भिल्लासँग बराबरी खेल्दा रोकियो लिभरपुल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रतिष्पर्धात्मक खेलमा एभर्टनले लिभरपुललाई निकै दबाबमा राखेको थियो । एभर्टनका कोनोर कोडीले खेलको ६९औं मिनेटमा गरेको गोल रेफ्रीले अफसाइड दिएपछि एभर्टनले अग्रता लिने अवसर गुमाएको थियो । यो बराबरी पछि एभर्टनले यस सिजनमा खेलेका ६ खेलमा चौथो बराबरी खेलेको छ भने दुई खेलमा हार बेहोरेको छ ।

अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको छ । भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा सिटीले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।

उच्च लयमा रहेको नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले ५०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटी आएका हालान्डले प्रिमियर लिगको ६ खेलमा १० गोलसँगै एक असिस्ट दिइसकेका छन् ।

तर, सिटीको अग्रता लामो समय टिकेन । ७४औं मिनेटमा लिओन बेइलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ज्याकोप राम्सेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै सिटीले आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । अपराजित रहेको सिटीको ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिटीभन्दा एक खेल कम खेलेको आर्सनल लगातार पाँच जितबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एस्टन भिल्ला ४ अंक जोडेर १७औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?