साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौंमा एक विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले साहित्य रूख रहेको बताउँदै गीत यसको फूल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साहित्य मूल रहँदारहँदै पनि यसलाई गीतले गीतलाई संगीतले संगीतलाई नृत्यले ढाकेको हुन्छ ।’

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको नवनिर्मित सभाकक्ष तथा कार्यक्रमको पानसमा बत्तीबालेर उद्घाटन गर्ने क्रममा उहाँले आफ्नो उक्त धारणा व्यक्त गर्नुभएको हो । प्रतिष्ठानका सभापति शिवनारायण जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरू विनोद दाहाल वत्स, मधुसूदन पाण्डेय, दुर्गा अधिकारी भमरकोटे तथा सीमा पुरीले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

साहित्यकार नारायण नेपाल, गायक नवीन ढुंगेल, कृष्ण दर्जीलगायत वरिष्ठ साहित्यकार तथा कलाकारको उपस्थिति रहेको सो कार्यक्रमा उहाँहरूले आ–आफ्ना विधाको प्रस्तुति दिनुभएको थियो । बुढानीलकण्ठ-१२ कपन, फैकामा रहेको साहित्यकार शिवनारायण जोशीको निवासमै निर्मित हलमा सम्पन्न कार्यक्रमा दर्शक, श्रोता तथा कलाकारहरूको उपस्थिति रहेको थियो । शिवराम भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रमको पहिलो चरणमा साहित्यिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा सांगीतिक कार्यक्रम प्रस्तुत भएको थियो । कार्यक्रमा विभिन्न लोकभाकाका छ-सातवटा गीत रेकर्ड तथा छायांकन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?