प्रहरीले अघि बढायो सन्दीपविरुद्ध अनुसन्धान

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता भएको हो । प्रहरी वृत्त गौशालामा मंगलबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताउनुभयो ।

सन्दीपमाथि एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । किशोरीले ०७९ भदौ ५ गते राती जबरजस्ती करणी गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त, गौशालामा जाहेरी दिनुभएको हो । प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको हो ।

लामिछाने भने अहिले देशमा हुनुहुन्न । उहाँ गत ६ भदौमा टी-२० सिरिज खेल्नका लागि केन्या जानुभएको थियो । त्यहींबाट उहाँ वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न जानुभएको छ ।

पीडितले दिएको जाहेरीमा केन्या जानु एक दिनअघि उक्त घटना भएको हो । प्रहरीका अनुसार ती किशोरी लामिछानेकी समर्थक हुनुहुन्थ्यो । उहाँहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत् कुराकानी हुन्थ्यो ।

सामाजिक सञ्जालमार्फत् नै उहाँहरूले भेट्ने प्रस्ताव गर्नुभयो । किशोरीलाई लिन लामिछाने आफ्नो कार लिएर उहाँको होस्टल पुग्नुभएको थियो । होस्टलबाट उहाँहरू नगरकोट जानुभएको थियो । नगरकोटबाट फर्कंदा रातीको झण्डै ११ बजिसकेको थियो । त्यतिञ्जेलसम्म होस्टल बन्द भइसकेकाले सन्दीपले होटलमा बस्ने प्रस्ताव गर्नुभयो ।

त्यसपछि दुवैजना पिंगलास्थानस्थित होटलमा पुग्नुभएको थियो । युवतीले जाहेरीमा राती होटेलमा सन्दीपले उहाँमाथि दुईपटक बलात्कार गरेको उल्लेख गर्नुभएको छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सिसी) टीभी फुटेज पनि संकलन गरी अनुसन्धान थालिसकेको छ । त्यसबाहेक होटलका कर्मचारीहरूसँग पनि सोधपुछ जारी छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै लामिछानेलाई ४ पुस २०७८ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान घोषणा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?