भदौ २७ गते देशभरका सिनेमा हल बन्द गर्ने चलचित्र संघको निर्णय

Read Time = 3 mins

काठमाडौं । हल व्यवसायी र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले भदौ २७ गते देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । आफ्ना सदस्यप्रति अनर्गल प्रचार गरेको भन्दै विरोधस्वरूप संघले २७ गते सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै थप आन्दोलन गर्ने पनि चेतावनी दिएको छ ।

चलचित्र निर्माता संघ र निर्देशक समाजले सिनेमा हल सञ्चालकले नेपाली चलचित्रलाई विभेद गरेको भन्दै विज्ञप्ति जारी गरेपछि संघले पनि प्रतिवादमा सिनेमा हल नै बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ लाई मल्टिप्लेक्सले शुक्रबार अबेरसम्म पनि शो बाँडफाँट र आग्रिम बुकिङको सुविधा प्रदान नगरेपछि समाज र संघले आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिँदै विज्ञप्ति जारी गरेका थिए ।

संघका महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरू तथा संघहरूले हाम्रा सदस्यहरूको मानमर्दन हुनेगरी अनर्गल आरोप लगाएकोप्रति आगामी दिनहरूमा कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको थियो ।

नेपाली चलचित्र क्षेत्रका केही संघसंस्थाहरूले चलचित्र प्रदर्शनको सम्बन्धमा प्रकाशित भएको विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ’, संघले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली दर्शकलाई उच्च प्राथमिकतामा राख्दै र विशेषगरी युवा वर्गको चलचित्र हेर्ने इच्छालाई ध्यानमा राख्दै उत्कृष्ट सेवाका साथै उत्कृष्ट नेपाली तथा विदेशी चलचित्रहरूलाई हाम्रा सदस्य प्रदर्शकहरूले प्रदर्शन गर्दै आइरहेका छन् ।

तर यही क्रममा विगत केही समयदेखि आफनो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भई केही चलचित्र क्षेत्रका समूहले हाम्रा सदस्यहरूप्रति अनर्गल रूपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गर्ने काम भएको छ ।’ चलचित्र क्षेत्रलाई धराशायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा उत्पन्न गराउने काम भएको संघको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?