नेतामाथि निन्दनीय आक्रमण प्रयास

हिमालय टाइम्स
Read Time = 8 mins

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हालै झापामा आक्रमणको प्रयास भयो । अहिलेसम्म यस्तो प्रयासबाट अछुतो रहनुभएका ओली पनि अब यस्तो आक्रोशमा पर्नुभएपछि झलनाथ खनाल, सुशील कोइराला, पुष्पकमल दाहालमाथि भएका विगतका आक्रमणको घटनाको निरन्तरतामा उहाँ पनि पर्नुभएको छ ।

यसअघि तत्कालीन नेकपा एमालेकै नेता झलनाथ खनाल आफ्नै कार्यकर्ताको आक्रमणमा पर्नुभएको थियो । उहाँलाई पार्टीको कोही कार्यकर्ताले गालामा थप्पड हानेको थियो । यसको केही समयपछि खनाल नेपालको प्रधानमन्त्री बन्नुभयो । झलनाथ खनाललाई कार्यकर्ताको थप्पड फापेको भन्ने चर्चा त्यसताका हुनेगरेको थियो । प्रधानमन्त्री बन्न पाए थप्पड खान आफू पनि तयार रहेको जस्तो अभिव्यक्ति विभिन्न व्यक्तिहरूबाट आउने गरेका थिए र खनाललाई थप्पड हान्ने व्यक्तिका हातबाट थप्पड खान पाएहुन्थ्यो भनेर ठट्टा गर्ने गरिन्थ्यो । खनाललाई थप्पड हान्ने व्यक्तिलाई पक्राउ गरेर छोडिएको थियो । यसैगरी नेपाली कांग्रेसका नेता सुशील कोइरालालाई पनि उहाँको पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठनका कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए । नेविसंघका कार्यकर्ताले उहाँलाई लठ्ठीले टाउकामा प्रहार गर्ने प्रयास गरेका थिए र अरूले छेकेर तिनको त्यो आक्रमण प्रयास असफल पारेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि पनि यसैगरी आक्रमण भएको थियो । आक्रमण गर्ने व्यक्ति उहाँलाई झलनाथ खनाललाई जसरी नै हात हाल्न सफल भएको थियो । प्रहरीले त्यस आक्रमणकारीलाई पक्राउ गरेको भए पनि दाहालले नै उसलाई छोडिदिनू भन्नुभएपछि उक्त व्यक्ति छुटेका थिए । त्यसपछि हाल यस्तै प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको छ र त्यो पनि उहाँको आफ्नै गृहजिल्लामा । यस प्रसंगले संसद्को बैठकमा समेत चर्चा पायो । खास मुद्दा बनेको देखिएन ।

ओली खरो, व्यंगात्मक बोल्ने नेताका रूपमा बढी चिनिनुहुन्छ । उहाँको विचार कसैको पक्षमा वा विपक्षमा जसरी आए पनि प्रष्ट रूपमा आउँछ । त्यसैले उहाँको विचारसँग धेरैको असहमति रहन सक्छ । त्यसमा कुनै वर्गीय, जातीय वा क्षेत्रीय हितको सबालमा राजनीतिक आस्थाभन्दा फरक रूपमा एकता वा गठबन्धन तयार हुनसक्छ । करिब ६÷७ वर्षसम्म नामविहीन प्रदेश-१लाई अहिले ‘कोशी प्रदेश’ भनेर नामकरण भएको छ । अरू प्रदेशहरूको नाम यसपूर्व नै राखिसकिएको थियो र त्यसरी राखिएका नामहरू भौगोलिक पहिचानका आधारमा छन् ।

प्रदेश-१ ले एक कार्यकालभरि पनि नाम राख्न सकेको थिएन । यही आधारमा आलोचना खेपिरहेको प्रदेशले हाल ‘कोशी प्रदेश’ नामकरण गरेपछि पहिचानका आधारमा नाम राखिनुपर्ने माग राख्दै आएकाहरूले यसकै आधारमा विरोध प्रदर्शन गर्दै आएका छन् । केपी ओली यही घानमा पर्नुभएको हो । उहाँमाथि आक्रमण गर्नेहरू अरू नै पार्टीका कार्यकर्ता हुनसक्लान् र पहिचानको माग उठाइरहेका तर राजनीतिमा भने उहाँसँगै सहमति राख्ने उहाँकै कार्यकर्ता पनि हुन सक्लान् । किनभने झलनाथ, सुशील र पुष्पकमलमाथि आक्रमण गर्नेहरू उहाँहरूकै पार्टी कार्यकर्ता थिए । आफ्नै केन्द्रीयस्तरका नेताहरूमाथि आक्रमण भएको वा आक्रमण प्रयास भएको नयाँ होइन ।

केन्द्रीय नेतामाथिको आक्रमणको बढी चर्चा हुने, पत्रपत्रिकाहरूमा छाउने नै भए । जिल्लास्तरका नेताहरूमाथि पनि यस्ता घटना भइरहन्छन् जो खास चर्चामा सुनिँदैन । जिल्ला नेताहरूले भोग्ने ती घटनाहरू केन्द्रसम्म आइपुग्दैनन् । केन्द्रसम्म पुग्नु पहिले नै सेलाएर जान्छन् । त्यसकारण मोफसलमा यस्ता अनेकौं घटना नहोलान् भन्ने छैन । प्रश्न यो हो कि किन नेताहरू आफ्नै कार्यकर्ताको आक्रोशमा पर्ने गरेका छन् । यसबाट नेताहरूले आफ्नै कार्यकर्तालाई सन्तुष्ट राख्न नसकेको, जनता उहाँहरूसँग रुष्ट रहेको, नेताहरूले जनतासामु गरेको कबोल तथा वाचाहरू पूरा गर्न नसकेको भन्ने देखिन आउँछ ।

यसका साथै माओवादी पार्टीका नेताहरूमा चाहिँ आफ्नै स्वजनको हत्या भएको, आफू पनि माओवादी लडाकु रहेको तर पार्टी शान्ति प्रक्रियामा गएपछि पटक-पटक सरकारमा गएको भए पनि सशस्त्र विद्रोहका बेला कार्यकर्ता तथा नेपाली जनतालाई जे–जस्ता आश्वासन उहाँहरूले दिनुभएको थियो आफू सरकारमा गएपछि भने त्यस्ता आश्वासनप्रति बेवास्ता गरेको जस्ता कारणले कार्यकर्ता तहमा असन्तुष्टि र निराशा व्याप्त रहेको देखिन्छ । कतिपयको विचारमा यसरी नेताहरूमाथि आक्रमण हुनु वा आक्रमणको प्रयास हुनुभनेको त्यही असन्तोष, कुण्ठा र निराशाको प्रतिबिम्बन हो । त्यसैले राजनीतिमा संलग्न नेतृत्व वर्गले आफ्नो निजी स्वार्थलाई मात्र मध्यनजर राखेर होइन जनताका साझा समस्या समाधान गर्न र जनताका हितका कार्यमा समर्पित हुन सक्नुपर्छ भन्ने सन्देश यस्ता घटनाले दिने गरेका छन् । तर नेताहरूमाथि हुने आक्रमणका यी वा यस्तै प्रकृतिका घटना कुनै हालतमा स्वीकार्य हुनसक्दैनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आफ्ना सहमति वा विमति प्रकट गर्ने अधिकार सबैलाई प्रदान गरेको छ । अहिले प्रदेश नामकरण ठीक वा बेठीक भन्ने अधिकार सबैसँग छ । तर शान्तिपूर्ण र सम्यमतापूर्वक विचार प्रस्तुत गर्नु आवश्यक छ । प्रदेश–१ को नामकरण गर्दा एमालेका मुख्यमन्त्री भएको र एमालेको समर्थनमा नामकरण भएको मान्न सकिँदैन । प्रदेशसभामा एक प्रकारले सर्वसम्मत निर्णय भएको थियो । एमले वा कुनै एक दल वा व्यक्ति कसरी जिम्मेदार हुन्छ ? जिम्मेदार नै भए पनि शान्तिपूर्ण असहमतिको अधिकार प्रयोग हुनसक्छ । आक्रमण कुनै पनि प्रकारले निन्दनीय हो । सभ्य समाजले स्वीकार गर्न सक्दैन । ओलीमाथि भएको आक्रमण प्रयास निन्दनीय छ र हामी त्यस्तो अराजक संस्कार नबसाउन सबैपक्षलाई आग्रह गर्दछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?