आगामी मङ्सिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : नेता गौतम

फाइल तस्वीर

Read Time = 3 mins

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी मङ्सिरपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखाले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मङ्सिर ४ गतेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकार स्थिर हुने बताउनुभएको हो ।

देशलाई तीव्ररुपमा अगाडि बढाउन गठबन्धन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो संविधानअनुसार नेपालमा कुनै पनि दलको एकल सरकार बन्ने सम्भावना कम छ, देशमा स्थिर सरकारसँगै विकासलाई तीव्रगतिमा अगाडि बढाउनका लागि पनि गठबन्धन गरेर निर्वाचनमा जान आवश्यक छ ।”

संविधानको रक्षा र कार्यान्वयनका लागि पनि गठबन्धन भएको गौतमको भनाइ छ । उहाँले राजनीतिक दलप्रति नागरिकको वृतृष्णा बढ्न थालेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार निर्माणपछि नागरिकका सबै समस्या समाधान गरिने दाबी गर्नुभयो ।

गौतमले कांग्रेसभित्र केही असमझदारी रहेको भन्दै लोकतान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा प्रतिस्पर्धा र असमझदारी हुनु स्वभाविक रहेको बताउनुभयो ।

सुर्खेतका सन्दर्भमा पनि विगतका तीतामीठा अनुभवलाई आत्मसात् गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यता बोकेका पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, केही त्रुटि पनि हुन सक्छन्, त्यसलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।”

उहाँले सुर्खेत–तेलपानी हुँदै भुरीगाउँ पुग्ने सडक निर्माण चाँडै हुने भन्दै सडक निर्माणपछि कर्णालीको विकासमा टेवा पुग्नेसमेत बताउनुभयो । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीभित्रको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेतृत्वले सबै नेता कार्यकर्तालाई मिलाएर लिनुपर्ने हुन्छ, हामी जति एकताबद्ध हुन्छौँ, त्यति नै हामी बलियो हुन्छौँ र हाम्रा एजेण्डा लागू गर्न सक्छौँ ।” नेता गौतम निर्वाचन केन्द्रित जनताका साथमा कांग्रेस अभियानका लागि सुर्खेत आउनुभएको थियो । उक्त अभियानको समीक्षाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?