सडकका संरचना हटाउन संयुक्त सचेतनामूलक र्‍याली

हिमालय टाइम्स
Read Time = 4 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न सातदिने सूचना निकालेको लालबन्दी नगरपालिकाले त्यसको कार्यान्वयनका लागि सचेतनामूलक र्‍याली निकालेको छ । लालबन्दी नगरपालिका, उद्योग वाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्श लालबन्दी, बाल संरक्षण संस्था लालबन्दी, लालबन्दी जेसिस, लालबन्दी विद्यार्थी र प्रहरीको संयुक्त आयोजनामा पश्चिम जनज्योति क्याम्पसदेखि पूर्व इलाका प्रहरी कार्यालय अगाडिसम्म शनिबार सचेतनामूलक ¥याली निकालिएको हो ।

स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर निर्माण हाम्रो अभियान नारा दिएको उक्त सचेतनामूलक र्‍यालीमा ठेलागाडीदेखि ठूला महलसम्मका सम्पूर्ण व्यापारीहरूको मागलाई सम्बोधन गर्दै सुन्दर र समुन्नत नगर निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै उनीहरू सचेतनामूलक ¥यालीमा सहभागी भएको स्थानीय सचेत युवा मनोज बख्रेलले जानकारी दिनुभयो ।
सो अवसरमा उनीहरूले सडकमा रहेका स्टल, पसल, ठेलागाडा, इ-रिक्सा, अटो, म्याजिकलगायतलाई नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट खाली गर्ने अभियानमा सहयोग गर्न र ती संरचनाहरू सडकमा नराख्न आग्रह गरेका थिए । त्यस्तै, उनीहरूले सडकमा निर्माण सामग्री नराख्नसमेत अनुरोध गरेका थिए ।

सडकमा त्यस्ता फुटपाथ पसल, ठेलागाडा, स्टल, सवारीसाधन र निर्माण सामग्रीसमेत राख्दा सडकको अवस्था कुरूप बन्दै गएको, बजारको सुन्दरतामा समेत कमी आएको, दुर्घटनाको जोखिम बढेको भन्दै त्यस्ता संरचना हटाउन नगरपालिकाले सातदिने सूचना नै निकालेको थियो । नगरपालिकाले जारी गरेको सूचनाको कतै समर्थन, कतै आलोचना भइरहेका बेला यहाँका सरोकारवाला संघसंस्थाले भने नगरपालिकाको योजनामा ऐक्यबद्धता जनाउँदै र्‍यालीमा सहभागी भएको बताएका छन् ।

नगरपालिकाले जारी गरेको सूचना २७ गते सकिँदै छ । सचेतनामूलक र्‍यालीमार्फत् फुटपाथ व्यापारीहरूलाई संरचना हटाउन सचेत गराइएको भए पनि आइतबारदेखि संरचना नहटाए स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा ती संरचनाहरू नगरपालिकाले नै हटाउने र संरचना हटाउन लाग्ने खर्चसमेत व्यापारीहरूबाट असुलउपर गरिने नगरपालिकाका सूचना अधिकारी रेवतीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यता, फुटपाथ व्यापारीहरूले भने सडकको क्षेत्राधिकारभित्र पर्ने साढे ८२ फिट नै क्लियर गरेमात्रै आफूहरूले सहयोग गर्ने बताउँदै आइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?