काठमाडौंमा ग्रिन इनर्जी प्रवद्र्धन सम्मेलन

Read Time = 5 mins

काठमाडौं । ‘दिगो जलविद्युत्का साथ अझ राम्रो र हरियाली निर्माण गर्ने अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौंमा सुरू भएको छ । विश्वमा बढ्दो जिवाष्मा इन्धन खपत घटाई ग्रिन इनर्जी उत्पादन, व्यापार र उपभोगसम्बन्धी साझा बाटो तय गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

सम्मेलनले जलविद्युत्लाई वातावरण र मौसम परिवर्तनसँग जोड्दै दिगो विकास, विद्युत्को क्षेत्रीय व्यापार, लगानी र भविष्यबारे सघन छलफल गरी निष्कर्ष निकाल्ने आयोजक नेपाल हाइड्रोपावर एसोसिएसन र इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनले जनाएको छ ।

सम्मेलन उद्घाटन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले नेपालले भारतसँग विद्युत् व्यापार गरिसकेको र नेपालमा दिगो जलविद्युत् निर्माणका लागि सरकार लागिपरेको बताउनुभयो । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले भारतलाई तीन अर्ब ८४ करोड विद्युत् बिक्री गरेकोमा चालु आर्थिक वर्षमा १६ अर्बको बिजुली निर्यात गर्ने उहाँले जानकारी गराउनुभयो । राष्ट्रसंघीय वातावरण कार्यक्रमका पूर्वकार्यकारी निर्देशक एवं इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनका बोर्ड सदस्य एरिक सोल्हेमले जलविद्युत्को दिगो विकासका लागि सबैखाले नीति वर्तमान वातावरणीय समस्यासँग आबद्ध गर्नुपर्ने बताउनुभयो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा ऊर्जाको अभाव भएको उल्लेख गर्दै उहाँले अब युरोपले जलविद्युत्, सौर्य ऊर्जा उत्पादनमा लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।

इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत एडी रिचले सन् २०२१ मा विश्वमा उत्पादित ऊर्जामा जलविद्युत्को योगदान १६ प्रतिशत रहेको भन्दै वातावरण र दिगो विकासका लागि जलविद्युत्को विकल्प नभएको बताउनुभयो । सो अवसरमा भुटानको ड्रुक ग्रिन पावर कर्पाेरेशन लिमिटेडका प्रबन्ध निर्देशक छेवाङ रिन्जिनले भुटानको कुल गार्हस्थ्य उत्पादनमा जलविद्युत्को योगदान १४ प्रतिशत रहेको उल्लेख गर्दै नेपालमा तीव्ररूपमा भइरहेको जलविद्युत् विकासका लागि नेपाली जनतालाई बधाई दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् १९९० अघि जलविद्युत् भन्ने कुरा सरकारले मात्र बनाउनुपर्छ, विश्व बैंक, एशियाली विकास बैंकलगायत द्विपक्षीय ऋण तथा अनुदानमा मात्र बनाउनुपर्छ भन्ने सोच रहेको बताउनुभयो । कुनै बेला बढीमा १० मेगावाटका आयोजना पनि निजी क्षेत्रले आँट गर्न नसकेको तर हाल निजी क्षेत्रको विश्वास र उत्साह दुवै बढेर दुई, तीन सय मेगावाटका आयोजनामा सरिक भएको उहाँको भनाइ थियो ।

मंगलबारसम्म चल्ने सम्मेलनमा ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड, काठमाडौं विश्वविद्यालय, बुटवल पावर कम्पनी, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) विश्व बैंक, युरोपियन युनियन, अमेरिकी सहयोग नियोग, भारतको केन्द्रीय विद्युत् प्राधिकरण, विश्व बैंकको आइएफसी, नेदरल्याण्ड विकास बैंक (एफएमओ), इसिमोड, एशियाली विकास बैंक, डोल्मा इम्प्याक्ट फण्ड, पावर चाइना इन्टरनेशनल, एन्ड्रिज हाइड्रोलगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?