छतमा लटरम्मै तरकारी : रहरैमा कौसी खेतीबाट सुन्दरतासँगै आम्दानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । त्यसो त गाउँका गृहिणीको जस्तो व्यस्त दैनिकी हुँदैन बजारका गृहिणीहरुको । त्यसमाथि पनि गत एक वर्षदेखि फैलिएको कोरोना संक्रमणका कारण घर भित्र नै सीमित हुन बाध्य भएका म्याग्दीको सदरमुकाम बेनीबजारका गृहिणीहरु पछिल्लो समय कौंसीखेतीतर्फ आकर्षित भएका छन् ।

समय कटाउन पनि सजिलो, आफैले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि वचत हुने, घरको सुन्दरता पनि थपिने भएकाले यहाँका गृहिणीहरु कौसी खेतीतर्फ आकर्षित भएका हुन् ।

बेनी नगरपालिका वडा नं ७ र ८ मा पर्ने बेनीबजारमा १ हजार २ सय भन्दा बढी घरहरु रहेका छन् । ती घरहरुमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ ।

अर्गानिक र विषादीरहित तरकारी खान पाइने,पैसाको वचत हुने र घरमा नै वसेर तरकारीको स्याहार गर्दा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकोले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका ७ हुलाक चोककी साधनाकुमारी श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठजस्तै बजारका ५० जना महिला र पुरुषले कौसीखेती सम्वन्धि तालिम नै लिएर यो खेती शुरु गरेका हुन् । आफ्नो वडामा कौसी खेतीतर्फ गृहिणीहरुको आकर्षण देखेर बेनी नगरपालिका ७ ले कौसीखेती सम्वन्धि तालिम नै संचालन गरेको थियो ।

भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई ब्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रागी खरिद गरी कौसीखेतीलाई ब्यवस्थित गरेको बेनी नगरपालिका ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
वडाअध्यक्ष श्रेष्ठले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने प्रतिक्रिया दिनुभयो ।
तालिममा अग्र्यानिक तरकार खेतीको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो ।

वडा कार्यालयको बार्षिक बजेट अन्तरगत उक्त तालिम सञ्चालन गरिएको थियो । तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरि मल बनाउन विधि समेत तालिम समेत प्राप्त गरेपछि सहज भएको बेनी बजारकी अर्की गृहिणी सोभिता श्रेष्ठले बताउनुभयो । तालिममा सहभागिले कौसीमा रोपेको तरकारीले पर्याप्त नभएपनि घरभित्रको फोहोर ब्यवस्थापन र समयको सदुपयोग हुने बताएका थिए ।

८० वर्षका बृद्धले फलाए कौसीमा तरकारी

सामान्यतया ६० वर्षको उमेर पार गरिसकेपछि मानिसले आफू वृद्ध भएको भन्ठानी शारीरिक र मानसिक रुपमा कमजोर महसुस गर्छ । जागिर वा रोजगारीमा भएको व्यक्ति सेवानिवृत्त हुन्छ भने अन्य क्षेत्रमा रहेका व्यक्तिले अनुत्पादक काममा नै समय व्यतित गरिरहेका हुन्छन् । तर बेनी बजारको इन्द्रेणी टोलका ८० वर्षीय नैनकुमार श्रेष्ठको दैनिकी भने आम वृद्ध व्यक्तिहरुको भन्दा बेग्लै र अनुकरणीय छ ।

बिहान ४ बजे उठेर १ घण्टा जप, ध्यान र श्रीमद्भागवत गीता पाठ गरिसकेपछि श्रेष्ठको कर्मशील दिनचर्या सुरु हुन्छ । श्रीमती र छोराछोरी नउठ्दै श्रेष्ठ उठेर भाँडा सफा गर्ने, घर बढार्ने, पोछा लगाउनेजस्ता काम सम्पन्न गरी आफ्नै घरको छतमा रोपेका फलफूल र तरकारीको गोडमेलमा लाग्छन्। घरको (कौसी) छतमा लहलहाइ रहेका तरकारी र सागपातले श्रेष्ठको जोस र जाँगरको परिचय दिइरहेझैं लाग्छ ।

बिहान १० बजे खाना खाएपछि सुरु हुन्छ श्रेष्ठको सामाजिक दिनचर्या । आर्थिक, शैक्षिक, धार्मिक र सामाजिक क्षेत्रका गरी विभिन्न १४ वटा संस्थामा संलग्न रही सक्रिय श्रेष्ठ उदाहरणीय मात्र होइन, सामाजिक क्षेत्रका अभियन्ता नै भन्दा पनि कुनै अत्युक्ति हुँदैन ।

‘म मानसम्मान र लाभ लिन कुनै संस्थामा बसेको होइन’, श्रेष्ठले भन्नुभयो ‘स्वस्थ रहेर बाँचुन्जेल समाजका लागि केही गर्ने हुटहुटीका कारण एक दर्जन बढी संघसंस्थामा संलग्न छु ।’ म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्यसमेत रहेका श्रेष्ठले भने ‘निष्कृय बस्यो भन्यो बुढ्यौली कहरपूर्ण हुन्छ, सक्रिय भयो भने यही बुढ्यौली रहरलाग्दो हुँदोरहेछ ।’

बिहान ४ बजेदेखि राति ९ बजेसम्म गृहस्थी र समाजसेवाका काममा व्यस्त रहने श्रेष्ठ उमेरका कारण वृद्धावस्थामा पुगे पनि जोस र जाँगर हेर्दा युवा जस्तै लाग्ने इन्द्रणी टोलकी अगुवा महिला भावना पौडेलले बताउनुभयो । कृषिकर्मदेखि धर्मकर्म र सामाजिक तथा राजनीतिक कार्यमा समेत संलग्न श्रेष्ठ अहिलेसम्म आफू स्वस्थ रहेको बताउँछन् । खुट्टा दुख्ने समस्याका कारण अलि अप्ठ्यारो महसुस भए पनि यसैका कारणले कुनै काममा व्यवधान भने नआएको उहाँको भनाइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?