वर्तमान राजनीतिमा सबै असन्तुष्ट !

हिमालय टाइम्स
Read Time = 7 mins

राजनीति नै देशको मूल नीति हो । यसले राष्ट्रका अन्य नीतिहरूलाई डोर्‍याउने गर्दछ । सबै नीतिहरूलाई परिधिमा राखेर राजनीति केन्द्रमा रहन सक्नुपर्छ तर नेपालको वर्तमान राजनीतिले यस्तो गर्न सकिरहेको छैन । विगतमा पनि बाटो बिराएर अल्मिलिएको हाम्रो राजनीति अझैसम्म पनि मूल बाटोबाट हिँड्न सकिरहेको छैन, विभिन्न गोरेटाहरू पछ्याइरहेको छ । यसरी नेपाली राजनीतिले यस्ता गोरेटाहरूबाट यात्रा गर्नुपर्ने बाध्यता भने त्यही बाटोबाट यात्रा गर्ने यात्री वा नेताहरूकै कारणबाट सिर्जना भएको हो । यसमा अरूलाई दोष दिन मिल्दैन । आफ्नो रानजीतिक यात्रामा सफल र खुसी भएका नेताहरू कोही पनि पाइएका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पुरानो पञ्चायतको अवशेष हो भन्ने नेपाली जनमानसको धारणा छ ।

त्यसो भएका कारणले पनि राप्रपाले यति लामो राजनीतिक यात्रा गरिसक्दा पनि नेपाली जनताले उसलाई त्यति विश्वास गर्न सकिरहेका छैनन् । संविधानसभाको दोस्रो निर्वाचनमा २०७० मा गाई चिहृन देखाएर भोट मागेका कारण राप्रपा नेपाले त्यसबेला समानुपातिकबाट राम्रै सिट ल्याएको थियो । तर, प्रत्यक्ष्यतर्फ भने जित्न सकेको थिएन । त्यसबेला राप्रपा नेपालले ‘एक भोट गाईलाई एक भोट भाइलाई’ भनेर मत मागेको थियो तर विभिन्न समयमा जोडिँदै र छोडिँदै आएको राप्रपा नेपालले हालै गाई चिहृन प्राप्तिका लागि दिएको रिट अदालतबाट खारेज भएको छ । यस कारणले आस्थाका मत तान्ने उसको अभिलाशा पूरा नहुने भएको छ ।

एकता गरी बलियो बनेर अघि बड्ने राप्रपाको उद्देश्य जुन थियो त्यसमा महाधिवेशनपछि आफू पराजित भएका कारण कमल थापाले पार्टी परित्याग गरेर राप्रपा नेपाल नै बनाएपछि अर्को पक्ष पनि स्वतः कमजोर बन्न पुगेकै छ । राप्रपामात्र होइन अन्य जे जति पार्टीहरू नेपालमा राजनीतिमा सक्रिय छन् ती सबैका केही न केही कमजोरी छन्, गुनासा छन् र पार्टीभित्रै वा अर्को पार्टीप्रतिका अनेकौँ रोष छन् । तराईवादी पार्टीहरूमा यस्ता ट्टुने फुट्ने र जोडिने समस्या सबैभन्दा बढी छ । आफैँमा पनि ती पार्टीहरू राष्ट्रिय पार्टी बन्न सकिरहेका छैनन् । त्यसका विभिन्न कारण छन् । स्थापनामै तिनको उद्देश्य क्षेत्रीयतावादी बनेर देखापरेका कारण ती राष्ट्रव्यापी बन्न नसकेर टुक्रिँदै गएर ‘न्युक्लियर’ पार्टी बन्ने समस्या तिनमा छ ।

नेपाली जनताको त्यति ठूलो भरोषा ती पार्टीप्रति देखा पर्न सकेको छैन । सामुमा निर्वाचन आउँदै छ । त्यसमा आपूm र आफ्नो पार्टीलाई विजयी गराउने रणानीतिमा पार्टी र नेताहरूको दौडधुप सुरु भइसकको छ । यसका लागि केही नेताहरूको अस्त्र आफू प्रधानमन्त्रीको उम्मेदवार हुँ भनेर प्रयोग भएको छ । केही ठूला पार्टीका उपल्लो तहका नेताहरूले यस्तो अश्त्र प्रयोग गर्नुभएको छ । यो अस्त्र केही नेताहरूका लागि सहयोगी बन्न सक्ला तर केही नेताहरूका लागि यही घोषणाले आफैँलाई अप्ठ्यारो पारिरहेको छ । अर्कातिर गठबन्धनको सकस छँदैछ ।

नेपाली कांग्रेसका लागि भने यो मौका गोरु ब्याएको अवस्था हो तर हाल गठबन्धनभित्र टिकट बाँडफाँटका लागि लामो समयदेखिको प्रयासबाट निष्कर्ष नआउनुले स्थानीय निर्वाचनमा भरतपुरमा जसरी नै गठबन्धनको निर्णयलाई स्वीकार नगरी स्वतन्त्र उम्मेदवारी धेरैतिर पर्ने सम्भावना देखिन्छ । त्यस्तो उम्मेदवारी काठमाडौंका बालेन साह र धरानका हर्क साङपाङको स्वरूपको नभएर पार्टीहरूबाटै असन्तुष्टहरूले धमाधम दिने उम्मेदवारी हुनेछ । यसले गर्दा धेरैतिर स्वतन्त्रहरूले दिने उम्मेदवारी त छँदैछ यस्ता पार्टीका बागी र स्वतन्त्रहरूको विजय निकै ठाउँमा हुनसक्छ भनेर पूर्वानुमान लगाउन त्यति सोचिरहनु पर्दैन । अहिले गठबन्धनभित्र कुन पार्टीलाई कति सिट छुट्याउने भन्ने सकस छ ।

यो छिनोफानो भइसकेपछि पुनः अर्को सकस सुरु हुन्छ पार्टीभित्रै कसकसलाई टिकट दिने भनेर । टिकट पाउने वा नपाउने, पाएर पनि कसरी जित्ने भन्ने अनेकौँ तर्क र प्रयास त भई नै हाल्छन् । त्यसमा पनि कुन खेमाका कति व्यक्तिले टिकट पाए भन्ने लेखाजोखा र भागबण्डाको कुरा निकै नै कसिलो पेचिलो र सकसपूर्ण मानिन्छ । निष्कर्षमा भन्दा कुनै पार्टीका कुनै पनि नेता कार्यकर्ताहरू आफ्नो राजनीतिक अभियानबाट सन्तुष्ट छैनन् आगामी निर्वाचनले तिनमा सन्तुष्टि ल्याउन सक्ला वा नसक्ला त्यो भोलिका दिनमा देखिने परिणाम हो तर गठबन्धनमा रहेका पार्टीहरू सबै एउटै साझा उद्देश्य लिएर अगाडि बढेका छन् त्यो हो एमालेलाई पाखा लाउने लक्ष्य । त्यसो हो भने त्यसका लागि सबैको एकता र सहमति भने देखिनै पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?