दलहरूले आज र भोलि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

यससँगै दलहरू समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा ११० र प्रदेश सभाका लागि बढीमा २२० सहित ३३० उम्मेदवार चयन गर्नेछन् ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ । राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ । असोज २३ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ । उक्त दिन नै मनोनयन दर्ता सुरु गर्नका लागि असोज २१ गते प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणपछि राजनीतिक दल तथा उम्मेदवारहरू निर्वाचन प्रचार प्रसारमा जुट्नेछन् । कात्तिक २५ गतेभित्र आयोगले अधिकांश मतपत्र छाप्ने कार्य टुङ्ग्याउने, मतदान सामग्री ढुवानी गर्ने, मतदान अधिकृत र कर्मचारी नियुक्त गर्नेगरी निर्वाचन तालिका छ ।

मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानभन्दा ४८ घण्टाअगाडि मंसिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचार प्रसारमा रोक लगाइनेछ । आयोगले मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मंसिर ४ गतेदेखि नै मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएपछि आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पठाउनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेपछि प्रतिनिधि सभाको नयाँ कार्यकाल सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?