संविधान दिवसका अवसर पारेर करिब सातसय कैदीलाई रिहा गर्न सिफारिस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले संविधान दिवसका अवसर पारेर करिब ६९८ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका ६८१ कैदीको बाँकी सजाय कट्टा तथा १७ जनालाई आममाफी दिन मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको हो ।

विभिन्न अपराधमा अदालत तथा मुद्दाको किनारा लगाउने निकायबाट दोषी ठहर भई देशभरका ७४ कारागारमा रहेका कैदीको संख्या १४ हजारभन्दा बढी छ । हरेक वर्ष संविधान दिवस (असोज ३०), राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) र गणतन्त्र दिवस (जेठ १५) का दिन राष्ट्रपतिबाट कैदीलाई उनीहरूका आचरण, व्यवहार, उमेर, अदालतका आदेशलगायतलाई आधार बनाएर बाँकी सजाय कट्टा गरी कैदमुक्त गर्ने चलन छ । पछिल्ला तीन वर्षमा मात्रै चार हजार बढी कैदीलाई विभिन्न दिवसमा बाँकी कैद सजाय मिनाहा र आममाफी दिइएको छ ।

पछिल्ला तीन वर्षमा मात्रै विभिन्न दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट चार हजार बढी कैदीको बाँकी कैद सजाय मिनाहा गरिएको थियो ।

गृह मन्त्रालयको अभिलेखअनुसार २०७९ जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा ८१८ कैदीको सजाय अवधि मिनाहा र १६ जनालाई आममाफी दिइएको थियो ।

२०७८ असोज ३ (संविधान दिवस) मा ५२३ को बाँकी सजाय मिनाहा र आठ जनाले आममाफी पाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?