बैतडीमा ६ महिनादेखि उडान हुन सकेन

हिमालय टाइम्स
Read Time = 3 mins

डम्बर बोहरा/हिटा
बैतडी । बैतडीको पाटन विमानस्थलमा ६ महिनादेखि उडान हुन सकेको छैन । समिट एयरले प्रत्येक बिहीबार उडान भर्दै आएको भएपनि ६ महिनादेखि पाटन-धनगढी उडान हुन नसकेको हो । विमानस्थलबाट अन्तिम उडान २०७८ चैत १० गते भएको थियो ।

चैत १० गतेदेखि बन्द रहेको पाटन-धनगढी र धनगढी-पाटन उडान असारमा सुचारु गर्ने तयारी भएको भए पनि मौसम प्रतिकुलताका कारण उडान गर्न नसकिएको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताउनुभयो । ‘चैतपछि केही महिना पूर्वतर्फ पर्यटक आवागमन बढ्यो, पाटन-धनगढी उडान भर्ने विमान पनि उतै सिफ्ट भयो । त्यसपछि यता उडान हुन सकेन’ उहाँले भन्नुभयो, ‘असारदेखि उडान गर्ने योजना थियो, मौसम अनुकूल नहुँदा असारमा पनि उडान भर्न सकिएन ।’

यात्रु नपाउँदा र मौसम प्रतिकूल नहुँदा गत चैत १० गतेदेखि बन्द रहेको पाटन धनगढी असोज ८ गतेबाट दशैँका लागि उडान भर्ने तयारी भइरहेको सम्पर्क व्यक्ति भट्टले जानकारी दिनुभयो । प्रत्येक बिहीबार धनगढी-पाटन, पाटन-धनगढी उडान भर्दै आएको समिट एयरले यात्रु अभावमा उडान भर्न नसकेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । यसरी लामो समयसम्म हवाई सेवा बन्द हुँदा सेवाग्राही समस्या छन् । फागुनदेखि एक महिना सञ्चालन आएको हवाई सेवा फेरि चैत १० गतेदेखि बन्द छ ।

नियमित उडान हुन नसक्नु र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ । धनगढीदेखि पाटनसम्म १७ मिनेटको हवाईयात्रा हुने हवाईमार्गको भाडा चार हजार भन्दा बढी लाग्ने गरेको पाटन नगरपालिका–६ का स्थानीय चमन भण्डारीले बताउनुभयो ।

चैत्र १० गतेको पछिल्लो अन्तिम उडानका बेला चार हजार पाँच सय रुपैयाँ भाडा कायम भएको थियो । समिट एयरका भट्टका अनुसार असारमा हुने भनिएको उडानका लागि पाँच हजार भाडा तोकिएको थियो । यद्यपि असारमा उडान भएको थिएन । इन्धनको मूल्यवृद्धिका कारण भाडा पनि बढ्ने गरेको उहाँले बताउनुभयो । पाटन विमानस्थल झन्डै २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट सञ्चालनमा आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?