सिन्धुलीका चार विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट शिक्षण

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

-राधिका बुढाथोकी

सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट पढाइ हुन थालेको छ । दुधौली नगरपालिका–३ का सबै सामुदायिक विद्यालयमा मंगलबारदेखि पढाइ भएको हो । यस वडामा चारवटा सामुदायिक विद्यालय छन् । राष्ट्रिय माध्यमिक विद्यालय, कालापानी, जनकल्याण निम्नमाध्यमिक विद्यालय, तल्लो खुट्टेपानी, जनहित आधारभूत विद्यालय, माथिल्लो खुट्टेपानी र निम्नमाध्यमिक विद्यालय, झुँगा । यी विद्यालयमा आधुनिक प्रविधिमार्फत् पढाइ हुन थालेको हो ।

बाल कक्षादेखि पाँच कक्षासम्म अंग्रेजी विषय ‘टकिङ टिचर’ अर्थात् आफैं पढाउने कलम र स्मार्ट किताबमार्फत् अध्यापन गराउन थालिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले जानकारी दिनुभयो । जनहित आधारभूत विद्यालय, माथिल्लो खुट्टेपानीका प्रधानाध्यापक रमेश कटुवालले नयाँ प्रविधि ‘स्मार्ट किताब र आफैं पढाउने कमल’ का माध्यमबाट बालबालिकालाई अध्यापन गराउन थालिएको बताउनुभयो । ‘वडाध्यक्ष भद्राकुमारी माझीले आइतबार विद्यालय छुट्टी हुने समयमा एक कार्यक्रमको आयोजना गरी ‘टकिङ टिचर’ प्रविधि विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सोमबार संविधान दिवसका अवसरमा विद्यालय बन्द गरियो,’ उहाँले भन्नुभयो, ‘मंगलबारबाट उक्त प्रविधिमार्फत् पढाउन सुरु गरेका छौं ।’

हाल एक सेट आफैं पढाउने कलम र स्मार्ट किताब उपलब्ध भएकाले एकैपटक धेरै कक्षामा पढाउन नसकिने भएकाले पालैपालो क्रमशः पढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

वडाको तीन लाख पचास हजार लगानीमा आफ्नो वडाभित्र रहेका चारवटा सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधि भित्तत्र्याइएको जिल्लाकी एकमात्र महिला वडाध्यक्ष भद्राकुमारी माझीले बताउनुभयो । बोर्डिङ स्कुलप्रतिको मोह घटाई सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आधुनिक प्रविधिलाई अवलम्बन गर्दै अध्यापन गराउन थालिएको उहाँको भनाइ छ । ‘परम्परागत शिक्षण पद्धतिले पढाइप्रति विद्यार्थीको रुचि घट्दै गएको छ । विद्यार्थीलाई पढाइमा आकर्षित गर्न विद्यालयमा आधुनिक प्रविधिको विस्तार गर्न थालेका हौं,’ उहाँले भन्नुभयो ।

यसले सामुदायिक विद्यालयमा देखिँदै आएको अंग्रेजी भाषासम्बन्धी समस्या समेत न्यूनीकरण गर्ने उहाँको बुझाइ छ । यस प्रविधिलाई बोल्ने कमल पनि भनेर बुझ्ने गरिन्छ । बोल्ने कलमले स्मार्ट किताबको अक्षरमा छुवाउँदा शुद्धसँग बुझ्ने गरी पढाउँछ । यो प्रविधिमार्फत् विद्यार्थीलाई अंग्रेजी शुद्धसँग उच्चारण गराउन र पढाइप्रति आकर्षित गराउन शिक्षकलाई समेत सहज हुने जनकल्याण निम्नमाध्यमिक विद्यालय, तल्लो खुट्टेपानीका प्रधानाध्यापक ओमबहादुर सुनुवारले बताउनुभयो । ‘बालबालिकाले उच्चारण गरेका शब्द पुनः सुनाउन पनि मिल्ने रहेछ, यसले उनीहरूलाई शुद्धसँग बोल्न, पढ्न र लेख्न प्रेरित गर्दछ,’ उहाँले भन्नुभयो ।

क्रियटिभ एडुनेन्टमेन्ट वल्र्डका सहजकर्ता शरण सापकोटाले बोल्ने स्मार्ट किताब र बोल्ने कलमको माध्यमबाट बालबालिकाले शुद्धसँग सहज र सरलसँग अंग्रेजी बोल्न सिकून् भन्ने उद्देश्यले यस प्रविधिको विकास र विस्तार गरिएको बताउनुभयो । उहाँका अनुसार बाल कक्षादेखि कक्षा पाँचसम्मका बालबालिकाका लागि १७ वटा किताबको प्याकेज तयार गरिएको छ । सोही प्याकेजका बारेमा सम्बन्धित विद्यालयका शिक्षक, अभिभावक र जनप्रतिनिधिलाई जानकारी गराउने, यस प्रविधिको महत्व बुझाउने, ‘टकिङ टिचर’ लागू गरिने विद्यालयका शिक्षकलाई प्रविधिबाट पढाउने तरिका सिकाउने गरिन्छ ।

बोल्ने कलमलाई विद्युत्बाट चार्ज गर्नुपर्छ । एउटा स्मार्ट कलमले पाँच वर्षसम्म काम गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार बोल्ने कलम र किताबको सम्बन्ध सेन्सर हुन्छ । जसको सम्बन्धबाट विद्यार्थीले शुद्धसँग अंग्रेजी पढ्न, शब्द उच्चारण गर्न सक्नेछन् । यो प्रविधि समय सुहाउँदो भएकाले बालबालिकाका लागि निकै लाभदायिक हुने उहाँको भनाइ छ ।

दुधौली नगरपालिका–३ का सामुदायिक विद्यालयमा परीक्षणका रूपमा यो कार्यक्रम लागू भएको नगरप्रमुख दिनेश अधिकारी दनुवारले बताउनुभयो । यो परीक्षण सफल भएमा तथा यसको नतिजा सकारात्मक देखिएमा पालिकाका सबै विद्यालयमा ‘टकिङ टिचर’ का माध्यमबाट अंग्रेजी विषय पठाइने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?