सहकारी ब्याजदर २० प्रतिशत पुर्‍याउन माग

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले सन्दर्भ ब्याजदरको सीमा नाघेरै कर्जा प्रवाह गरेको भन्दै त्यस्ता सहकारीमाथि कारबाही गर्न सहकारी विभागलाई आग्रह गर्नुभएको छ । नेपाल सहकारी पत्रकार समाजद्वारा बुधबार आयोजित सहकारीको सन्दर्भ ब्याजदर विषयक छलफलमा उहाँले सहकारीले ब्याजदर आफूखुसी बढाइरहेकाले विभागले प्रभावकारीरूपमा नियमन नगर्दा समस्या आएको बताउनुभएको हो ।

अधिकांश सहकारी सदस्यले ऋण नतिर्दा समस्या सिर्जना भएको उहाँको भनाइ छ । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिँदै विभाग ऐनको प्रावधानमै रहेर काम गर्ने भएकाले सन्दर्भ ब्याजदर बढाउने अवस्थामा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन्दर्भ ब्याजदर निर्धारण समितिले उपसमिति बनाएर अध्ययन गरिरहेका छौं, ऐनमै रहेर कुरा गर्ने हो भने ब्याजदर १६ प्रतिशतभन्दा बढी बढाउन सक्ने अवस्था देखिँदैन । कानुनबाहेकका विषय सिफारिस गर्न हामीलाई गा¥हो छ ।’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले ऐनअनुसार ब्याजदर बढाउन सक्ने अवस्था नभए पनि आफूहरू ब्याजदर बढाउन प्रयासरत रहेको बताउनुभयो । सहकारीको ब्याजदर समयसापेक्ष र स्वचालित हुनुपर्ने उहाँको भनाइ छ ।

काठमाडौं जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बैंकहरू भद्र सहमति तोडेर अघि बढेपछि सहकारी पनि रुमल्लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले धेरै सदस्यहरू ऋण नतिर्ने नियतसाथ अदालतमा मुद्दा हाल्ने काम गरिरहेका छन्, यो रोकिएन भने अझै भयावह हुनसक्छ, समस्या विकराल छ, सदस्यले ऋण नलिएर कारबाही के गर्ने भनेर यकिन नीति नहुँदा समस्या छ, सहकारी डुबेमा ऋणीहरू खुसी हुने अवस्था छ, बैंकहरूले १७ प्रतिशत ब्याज दिँदा अब सहकारीको २० प्रतिशतसम्म दिने व्यवस्था हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?