घुन्सा दुर्घटनाको सम्झना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको १६ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ जना संरक्षणकर्मीको सो दुर्घटनामा निधन भएको थियो । जलसम्पदा तथा वातावरण संरक्षण मञ्च नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरी मृतकको स्मृतिमा माल्यार्पण तथा दीप प्रज्वलन गरेको छ । वरिष्ठ समाजसेवी दीपेन्द्र विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व जलसम्पदा तथा वातावरण संरक्षण कोषका अध्यक्ष पुष्पराज पाण्डेले गर्नुभएको थियो ।

श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू-संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।

जलसम्पदा तथा वातावरण संरक्षण कोषले दुर्घटनामा मृत्यु भएका २४ जना संरक्षणविद्को रामकोटस्थित अर्धकदको सालिक निर्माण गरिरहेको छ । शहीद पार्क नामांकन गरिएको उक्त पार्कभित्र राजारानी ताल, राधाकृष्ण मन्दिर, स्विमिङ पुललगायतका अन्य संरचनाहरूको पनि निर्माण कार्य भइरहेको संस्थाका अध्यक्ष पुष्पराज पाण्डेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?