✍️ डा. नारायणप्रसाद निरौला
नेपालमा चुनावको माहोल नजिकिँदै छ । समय नेतृत्व चयन गर्ने भएकाले होला अब देशमा कस्तो नेता चाहिन्छ भन्ने बहस पनि चलि नै रहेको छन् । सबैका आ-आफ्ना तर्क हुनु स्वाभाविक नै हो । यही सन्दर्भमा वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोेत्तम दाहालद्वारा लिखित पुस्तक ‘मेरो पत्रकारिता’का विषयवस्तु साभार गर्नु उपयुक्त होला जस्तो लाग्यो । आद्योपान्त पुस्तकको अध्ययनले पत्रकारिताका साथै नेतृत्वकलाका बारेमा पनि सूक्ष्म विश्लेषण गरेको पाइन्छ ।
नेपाली परिवेशमा एक पत्रकारको समग्र वस्तुस्थिति त छँदैछ राजनीति र नेतृत्वका बारेमा पनि गहन चिन्तन प्रस्तुत पुस्तकमा पाइन्छ । विशेषतः आजको नेतृत्व कस्तो हुनुपर्छ ? नेतृत्व कला र बीपीको चिन्तन विशेष साभारयोग्य रहेका छन् । बृहत् कायाकार पुस्तक पढ्दै गर्दा लेखकले बीपीसँग बिताएका समय सन्दर्भ आजको परिप्रेक्षमा अनुकरणीय छन् । आजको नेतृत्व पनि सोही प्रकृतिको हुनुपर्दछ ।
जसले जनताप्रति समान व्यवहार गर्न सक्छन् । जसले प्रजाको पीडालाई आफ्नो पनि पीडा सम्झनसक्छन् ती वास्तवमा नेतृत्वकर्ता हुन् । नेतृत्वमा ‘सर्वजनहिताय’ अर्थात् सबैको हित हुने भाव हुनुपर्दछ । लोकतान्त्रिक व्यवस्था लोकको नै नेता र लोककै निम्ति नेता हुनुपर्दछ ।
उपनिषद्मा ‘सह ना ववतु सह नौ भुनक्तु, सह वीर्यं करवावहै, तेजस्विनावधीतमस्तु मा विद्विषावहै ।’ भनी सच्चा नेतृत्वको लक्षण र व्यवहारका बारेमा चर्चा गरिएको छ । द्वेषरहित सहकार्यको भाव राख्न सक्ने व्यक्ति नै नेता हुनसक्छन् । यसैगरी अथर्ववेदमा नेता जनताले चाहेको हुनुपर्दछ र नेतृत्व पनि प्रजाप्रति उत्तरदायी रहनसक्नुपर्दछ भनिएको छ : ‘विशस्त्वा सर्वा वाञ्छतु’ (अथर्ववेद ६।८७।१) यसका साथै चाणक्यले पनि ‘प्रजा सुखे सुखं राजा प्रजानां च हिते हितम् । नात्मा प्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम् ।।’ (चाणक्य) अर्थात् प्रजाको सुख नै राजाको सुख हो, प्रजाको हित नै राजाको हित हो, प्रजाको खुशी आत्मा नै राजाको खुशी आत्मा हो भनी बताएका छन् ।
यसरी हेर्दा जसले जनताप्रति समान व्यवहार गर्न सक्छन् । जसले प्रजाको पीडालाई आफ्नो पनि पीडा सम्झनसक्छन् ती वास्तवमा नेतृत्वकर्ता हुन् । नेतृत्वमा ‘सर्वजनहिताय’ अर्थात् सबैको हित हुने भाव हुनुपर्दछ । लोकतान्त्रिक व्यवस्था लोकको नै नेता र लोककै निम्ति नेता हुनुपर्दछ । सोही कुराको उठान बीपीका सन्दर्भबाट ‘मेरो पत्रकारिता’ मा व्यक्त गर्न खोजिएको छ ।
नेतृत्वकला कति दूरदशी हुनुपर्दछ भन्ने कुराको प्रसंग लेखकले आफ्ना भोगाइमार्फत् आमनेतृत्वकर्तामा पस्किएको सन्दर्भ आजको परिप्रेक्षमा विशेष स्मरणीय रहन्छ । ‘...त्यस दिन कपिलवस्तुको तौलिहवा पुग्नुपर्ने थियो । हतारमा तयार भएँ र सानदाजु भएछेउ पुगेँ । उहाँले राति निद परे नपरेको देखि खाना पथ्य भए नभएकोसम्मको खोजीनीति गर्नुभयो । म त्यति महान् व्यक्तित्वबाट यसरी जीवनका र व्यवहारका सूक्ष्म अवस्था र स्थिति विषयमा खोजी गरिनेछ भन्ने कुरामा रत्तिभर आशावादी थिइन तर त्यो आश्चर्यजनक गुण रहेछ ।’ (मेरो पत्रकारिता, पृ.५३) यो प्रसंग झट्ट हेर्दा सामान्य लाग्न्छ ।
एउटा देशकै नेतृत्व गर्ने व्यक्तिले एक पत्रकारसँग गर्नुपर्ने व्यवहार, आमव्यक्तिसँग गर्नुपर्ने व्यवहार र नेतृत्व कलाको सूक्ष्म स्वरूप यो प्रसंगले प्रदान गरेको छ । सामान्य कुराको सोधखोज नगर्दा पनि हुनेथियो तर किन गरियो भन्ने सन्दर्भ यहाँ मननीय छ । नेता हरेक व्यक्तिको हुन्छ । आमजनताको नेता हुने व्यक्तिमा सबैका मर्म र भाव बुझ्नसक्ने क्षमता हुनुपर्दछ । जबसम्म यस्तो भाव रहँदैन तब त्यो नेतृत्वले देशलाई केही पनि दिन सक्दैन । सबैको हित नै नेतृत्वकला हो । एक आपसमा सामान्य कुरा गर्ने व्यक्ति नै सबैभन्दा नजिक हुन्छ । किन सामन्य कुरा बीपीले लेखकलाई गरे । किन त्यस्तो भाव प्रकट गरे भन्ने सन्दर्भबाट नेता सबैमा सहजै भिज्न सक्ने हुनुपर्दछ भन्ने भाव प्राप्त हुन्छ ।
अर्थात् नेता र जनताको आत्मीय सम्बन्ध रहनुपर्दछ । सख्यभाव रहन सक्यो भनेमात्र व्यवहार सहज हुन्छ । यसैले सबैमा सख्यभाव जागृत गर्न यहाँ बीपीले लेखकका यावत् कुरामा ध्यान दिएका छन् । हाम्रो आजको नेतृत्व पनि यस्तै सख्यभाव जागृत गर्न सक्ने, सबैको साथी बन्न सक्ने र सुख दुःखमा साथ दिनसक्ने हुनुपर्दछ । किनकि व्यक्ति व्यक्ति मिलेर समाज बन्छ र त्यही समाजको समग्ररूप राष्ट्र हो । व्यक्तिलाई नै साथ र सहयोग गर्न नसक्नेले राष्ट्रप्रति जिम्मेवारी बहन गर्न सक्दैन । साथमा हिँड्ने व्यक्तिलाई सम्बोधन गर्न नसक्नेले देशलाई सम्बोधन गर्न सक्दैनन् । यही कुरा उक्त सन्दर्भले आजको परिवेशलाई प्रदान गरेको छ ।
लेखक बीपीसँग अझै भिजिसकेका हुँदैनन् । अझ भनौँ नेतृत्वको परीक्षण हुँदैछ । कपिलवस्तुबाट बुटवल भैरवाको कार्यक्रमा जानुपर्नेछ । कार्यकर्तासहित बीपीको गाडी लेखकलाई छोडेर गएको छ । नारायण दाइसँग चिन्ता व्यक्त गरेकै सन्दर्भमा पुनः बिपीले गाडीमा लिन पठाउनुबाट नेतृत्वकलाको वास्तविक स्वरूपको थप पुष्टि गरेको पाइन्छ । सबैलाई समान महत्व दिनुपर्छ । सबैको सोधी खोजी राख्नुपर्दछ । किनकि एक व्यक्ति छुट्नु वा पछाडि पर्नु भनेको देशलाई पछाडि धकेल्नु हो । सबैलाई सम्बोधन गर्न सक्नुपर्दछ । सोही नेतृत्व क्षमताको यहाँ पुनः परीक्षण भएको छ ।
पुनः बीपीले आफ्नो नेतृत्वगुणको परिचय दिएका छन् । पुनः नेता सबैका हुनुपर्छ भन्ने सन्देशलाई प्रवाहित गरेका छन् । फेरि पनि अर्को भेटमा बीपीले पुनः सोध्नु, कता हरायौँ ? साथीले पनि ख्याल राख्नुपर्ने हो, जस्ता आत्मीय जिज्ञासा नराख्दा पनि हुन्यो तर सच्चा नेतृत्व यसरी उदासीन भए देशको विकास पनि उदासीन हुन्छ । हरेक कार्यमा सक्रिय भएर लाग्न सक्नुपर्दछ भन्ने सन्देश उक्त प्रसंगबाट प्राप्त गर्न सकिन्छ ।
यसैगरी तौलिहवामा कमलेशजीले रोकेको पुनः बीपीले खोजी गरेको, पछि बीपीले कमलेशजीलगायतलाई ‘त्यति त थाह पाउँन सक्दैनौ के राजनीति गर्छौ तिमीहरूले ?’ भनी प्रतिप्रश्न गरेको, यसका लेखकलाई सहानुभूति प्रकट गर्दै बाटामा पनि जभाभावी खान नहुने, स्वास्थ्यको ध्यान दिनुपर्छ भन्ने भनाइले पनि वास्तविक नेताको गुणलाई प्रष्ट पार्दछ । आजका नेतामा पनि यस्तो भावना रहनुसक्नुपर्दछ । प्रत्यक्ष जनभावना बुझ्न सक्नुपर्दछ । अर्को एक प्रसंग ‘..वृद्धा बीपीलाई भेट्न खोज्दै हुनुहुन्थ्यो र साथीहरू दिइरहेका थिएनन् । मैले कुरा बुझेपछि वृद्धालाई साथमा लिएर माथि गएँ । कोठाअघि उहाँलाई उभ्याएर म बीपीको कोठाको ढोकामा पुगेँ । उहाँ लुगा लगाउँदै हुनुहुन्थ्यो । मैले बाहिरैबाट वृद्ध आमाको भेट्ने इच्छाबारे जानकारी दिएपछि दौराका तुना बाँध्दै बीपी विस्तारै ढोकामा आउनुभयो ।
वृद्धाले बीपीको इच्छा पूरा होस् भन्दै सोध्नुभयो–मलाई चिन्नुभयो ? अनि बीपीले भन्नुभयो २०१५/०१६ तिर आउँदा मैले तपार्इंको घरमा दहीचिउरा खाएको थिएँ । अनि तपाईंको छोरा हाम्रै पार्टीमा थिए अहिले कहाँ छन् ? ....’ भनी सोध्नु, छोराको परलोक भएकोमा आफ्नो पनि सहानुभूति प्रकट गर्नु आदि प्रसंगले पनि नेतृत्वकलाको गुणलाई प्रकाश पारेको देखिन्छ । ‘अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभ’ अर्थात् संसारमा कोही अयोग्य छैन । केवल योजक (सम्बन्धकर्ता, नेतृत्वकर्ता) को मात्र आभव हो । यसैले हरेक व्यक्तिमा कुनै न कुनै सद्गुण हुन्छ । उक्त गुणको खोज गर्न सक्ने । पहिचान गरी कार्य संयोजन गर्नसक्ने व्यक्ति नै वास्तवमा नेतृत्वकर्ता हो भन्ने सन्देश बीपीका अनेकौँ सन्दर्भले प्रदान गरेका छन् ।
एक आपसमा सामान्य कुरा गर्ने व्यक्ति नै सबैभन्दा नजिक हुन्छ । किन सामन्य कुरा बीपीले लेखकलाई गरे । किन त्यस्तो भाव प्रकट गरे भन्ने सन्दर्भबाट नेता सबैमा सहजै भिज्न सक्ने हुनुपर्दछ भन्ने भाव प्राप्त हुन्छ ।
यसैगरी बिपी र एक प्रहरी अधिकारीको संवाद प्रसंग पनि चिन्तनीय छ (पृ.५९) । हरेकले आफ्नो कर्तव्यको निर्वाह गर्नुपर्दछ । स्वधर्मको पालना गर्नुपर्दछ । ‘..राजनीति गर्ने र मलाई सहयोग गर्ने हो भने त पुलिसमा बस्नु हुँदैन पार्टीमा आउनुपर्छ । राजनीतिको खेल त राजनीतिक मान्छेले गर्छ । तिमीले हामीलाई गर्ने ‘सहयोग भनेको कानुनबमोजिम राम्ररी पुलिसको कर्तव्य पूरा गर्नु हो ।’ यसरी नेताले सबैलाई स्वधर्मको पाठ, स्वकर्तव्यको पाठ प्रदर्शन गर्न सक्नुपर्दछ । व्यवहारमा उतार्न सक्नुपर्दछ । नेताको गुण यस्तै प्रकृतिको हुनुपर्छ भन्ने विचार स्मरणीय छ ।
‘मेरो पत्रकारिता’ पुस्तकको पृष्ठ ९८ को एक रुपैयाँको प्रसंग पनि मननीय लाग्यो । ट्याक्सीमा चढेर पत्रिका लिन आउने तर पत्रिकाको मूल्य तिर्न हिच्किचाउने प्रवृत्ति आजको आमनेतृत्वमा भेटिन्छ । हरेकका आआफ्ना कर्म र धर्म हुन्छन् । त्यसप्रतिको लगानी हुन्छ । उक्त वस्तुप्रति कसैको आश्रय पनि रहेको हुन्छ तर आफ्नोमात्र स्वार्थ पूर्ति गर्ने अरू जस्तासुकै हुन्, भन्ने प्रवृत्तिले न त आफ्नो उन्नति हुन्छ न त देशको नै विकास हुनसक्छ । यसैले आजको नेतृत्व बीपीको चिन्तन बुझेको, आफूजस्तै अरूलाई पनि देख्नसक्ने व्यक्ति चाहिन्छ । विचारलाई व्यवहारमा उतार्न सक्ने सर्वजनहितकारी हुनसक्नुपर्दछ । आजको आमआवश्यकता पनि यही हो ।
यही प्रवृत्ति नै आजको रोजाइमा रहनसक्छ । पत्रिकाको मूल्य तिर्न नखोजी सित्तैमा लिनखोज्ने प्रवृत्तिले हाम्रो कल्याण असम्भव छ । अतः जनताको पीडालाई आफ्नो पीडा सम्झनसक्ने र सुखदुःखमा साथ दिनसक्ने व्यक्ति नै वास्तवमा असली नेतृत्वमा रहनसक्छ । अन्यथा नाममात्रको नेतृत्व रहन्छ, देशको उन्नति असम्भव छ । यसैले बीपी जस्तै नेतृत्वकर्ता नेताको खोजी आजका आमरोजाइमा पर्ने देखिन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका