काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेखर कोइराला) समूहले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पार्टीमा न्यायसंगत ढंगले टिकट वितरण नभए प्रतिकार गर्ने चेतावनी दिएको छ । संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै संस्थापनइतर समूहले शनिबार काठमाडौंमा खबरदारी सभा गरेर प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने चेतावनी दिएको हो । खबरदारी सभामा बोल्ने इतर समूहका नेताहरूले समानुपातिक सूचीमा उम्मेदवार छनोट गर्दा सभापति देउवाले एकलौटी गरेको आरोप लगाउँदै अब प्रत्यक्षतर्फ उम्मेदवार छनोटमा पनि त्यस्तै प्रवृत्ति दोहोर्याए विद्रोह गर्ने चेतावनी दिएका छन् । इतर समूहले न्यायोचित रूपमा टिकट वितरण हुनुपर्ने, कांग्रेसभित्रको सिट बाँडफाँटमा ४० प्रतिशत भाग दिनुपर्ने, पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने लगायतका माग अघि सारेका छन् । नेताहरूले पार्टीमा लामो समयसम्म क्रियाशील भएर संगठन गरेका नेता कार्यकर्ताहरूलाई समेत फरक गुट भएकै कारण टिकट नदिने गरी व्यवहार गरिरहेको आरोप लगाएका छन् । इतर समूहले टिकट वितरणमा दबाब दिनका निम्ति त्यस समूहले बालुवाटार घेराउनदेखि रिले अनशनसम्मको तयारी गरेको छ । कोइराला समूहमा संसदीय बोर्डको बैठक घेराउ, केन्द्रीय कार्यालयमा आमरण अनशन तथा रिले अनशन र चुनाव नै बहिष्कार गर्नेसहितको प्रस्ताव आएको छ ।
सभापतिले पार्टी एकताभन्दा गठबन्धनलाई प्राथमिकता दिए : केसी
खबरदारी सभाको सभापतित्व गर्नुभएका नेता जगदीश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले आफैँले गरेको प्रतिबद्धताविपरीत पार्टीभित्रका प्रतिस्पर्धीलाई पाखा लगाएर अघि बढ्न खोजेको आरोप लगाउँदै भन्नुभयो, ‘सभापतिजीले सबैलाई समेटेर अघि बढ्छु भनेर प्रतिबद्धता जनाउनुभएकै हो, तर अहिले पार्टीभित्र व्यवहारमा त्यो देखिएन । त्यहीकारण हामीले यो खबरदारी सभा गरेका हौँ, हामीले न्याय मागेका हौँ ।’
नेता केसीले सभापति देउवाले पार्टीभित्रको व्यवस्थापनभन्दा गठबन्धनको व्यवस्थापनमा जोड दिएको दाबी गर्दै भन्नुभयो, ‘सभापतिजी अन्य दलसँग तालमेल गर्न तयार हुनुहुन्छ । अन्य दललाई सम्मान गर्न, भागबण्डा गर्न दिनहुँ छलफल चलिरहेको छ, तर पार्टीभित्रैको व्यवस्थापनमा उहाँको चासो देखिएको छैन । गठबन्धन गर्ने नाउँमा पार्टीभित्रैको प्रतिस्पर्धीलाई पाखा लगाउने गरी सिट बाँडफाँट भइरहेको छ । सभापतिले आफूहरूको कुरा सुनाउन पनि समय दिनुभएन ।’
तत्काल समानुपातिक सूची सच्याउन माग
नेपाली कांग्रेसको कोइराला समूहले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची सच्याउन पार्टी नेतृत्वसँग माग गरेका छन् । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको जिकिर गर्दै कोइराला समूहले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्दसूची सच्याउन आग्रह गरेको हो । सत्तारूढ गठबन्धनको बैठकमा भागबण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने दाबी गर्दै नेताहरूले समानुपातिकको बन्दसूची सच्याउन निर्वाचन आयोगले दिएको समय असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् । बैठकमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व-महामन्त्री मनोजमणि आचार्यले पार्टी सभापति देउवाले पार्टीका लागि भन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाउनुभयो । उम्मेदवार छनोटमा इतर समूहलाई (डा.शेखर पक्ष)लाई ४० प्रतिशत दिनैपर्ने जिकिर गर्दै आचार्यले भन्नुभयो, ‘महाधिवेशनमा हामीले ४० प्रतिशत मत ल्याएको औचित्य के हो ? हामीलाई ४० प्रतिशत चाहिन्छ चाहिन्छ । पार्टीमा भाग हामीले मात्रै खोजेका होइनौँ । शेरबहादुर देउवाले विगतमा खोजेका हुन् कि होइनन् ?’ नेपाल तरुण दलका पूर्व–महासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाउनुभयो । पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाउनुभयो । निवर्तमान प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय हुने गरी सिट बाँडफाँट गरे विद्रोह हुने चेतावनी दिनुभयो ।
कांग्रेसको भोटले जित्ने नसोचे हुन्छ : नेता घिमिरे
नेपाली कांग्रेसमा कोइराला समूहका नेता गुरुराज घिमिरेले कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण सुरु भएको जिकिर गर्दै नेतृत्वले न्याय नगरे तेस्रो चरणमा विद्रोह हुने चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको डा. शेखर कोइराला समूहको खबरदारी सभालाई सम्बोधन गर्दै नेता घिमिरेले तत्काल समानुपातिकको बन्दसूची नसच्याए आक्रोशबाट विद्रोहको चरण सुरु गर्ने चेतावनी दिनुभएको हो । गठबन्धनका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालहरूले पनि कांग्रेसको समस्या बुझ्नुपर्ने जिकिर गर्दै नेता घिमिरेले कांग्रेस कार्यकर्तालाई रुवाएर गठबन्धनका उम्मेदवारले चुनाव नजित्ने चेतावनी दिँदै भन्नुभयो, ‘म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ, यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाएजति सिट जितिँदैन । कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पु¥याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।’
७७ जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्छ : नेता खड्का
नेपाली कांग्रेसका नेता भरत खड्काले आसन्न निर्वाचनमा शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताउनुभएको छ । शेखर समूहले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा बोल्दै नेता खड्काले भन्नुभयो, ‘यहाँभित्र न्याय हुँदैन । त्यो पर्खाइमा जाने हो भने ढिला हुन्छ । ढिलाइ गरे पार्टी विघटनतर्फ पनि जान सक्छ । त्यसैले हामीले ७७ जिल्लामै उम्मेदवारी दिने निर्णय गर्नुपर्छ । टिमले बाहिर आएर ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राखोस् ।’
सबैले टिकट पाउँदैनन्, त्याग गर्न आवश्यक छ : गृहमन्त्री खाँण
गृहमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले निर्वाचनमा उम्मेदवार हुन चाहने नेताले त्याग गर्न पनि सक्नुपर्ने बताउनुभएको छ । भैरहवामा शनिबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति देउवानिकट नेता खाँणले उम्मेदवार बन्न नेताहरूमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने भएकाले त्याग गर्न आवश्यक रहेको बताउनुभएको हो । टिकट नपाउनेले पनि टिकट पाउनेलाई जिताउन लाग्नुपर्ने भन्दै खाँणले भन्नुभयो, ‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनीतिक उचाइ छुनुपर्ने संकल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो । तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।’
खबरदारी सभामा समूहका शीर्ष नेता अनुपस्थित
डा.शेखर कोइराला समूहका नेताहरूको शुक्रबार स्वयम्भूमा बसेको बैठकले शनिबार हुने खबरदारी सभामा समूहका शीर्ष नेता, केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्तालाई सहभागी हुन आ≈वान गरेको थियो । भेलामा टिकटको माग गर्दै देशभरका नेता कार्यकर्ता उपस्थित हुने भएकाले उद्देश्य जबरजस्त स्थापित हुने अनुमान गरिएको थियो । तर, तामझामका साथ खबरदारी सभा गर्ने भनिए पनि समूहका शीर्ष नेताहरू नै उपस्थित भएनन् । समूहका नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्व-सहमहामन्त्री अर्जुननरसिंह केसी, डा.रामशरण महत लगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित हुनुभएन । केन्द्रीय सदस्यको उपस्थिति पनि न्यून देखियो । भेलामा अक्सर टिकट पाउने सम्भावना नै नरहेकाहरू बढी देखिएका थिए । भेलामा समूहका शीर्ष नेताहरू नै अनुपस्थित भएपछि असन्तुष्ट एक सहभागीले भने, ‘समूहको शीर्ष नेताहरू र टिकट पाउने सम्भावना भएका नेताहरू नै खबरदारी भेलामा उपस्थित छैनन् । हामी सम्भावना नै नभएकाहरू यहाँ आएका छौँ । यसरी गरेको भेलाको के औचित्य ? हाम्रा समूहकै नेता र टिकट पाउनेहरू नै हाम्रो आवाज नसुन्ने देखियो ।’
सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस कायमै
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा सत्तारूढ पाँच दलीय गठबन्धनमा जटिलता कायमै छ । गठबन्धनका शीर्ष नेताहरू निरन्तर छलफलमा जुटे पनि सहमति जुटाउन असफल भइरहेका छन् । सिट बाँडबाँटमा सहमति जुटाउन शनिबार दिनभरि बसेको शीर्ष नेतासहित कार्यदलको बैठक पनि निष्कर्षविहीन भएको छ । यसअघि शुक्रबार बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठक पनि निष्कर्षविहीन बनेको थियो । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दल सिट बाँडफाँटबारे महिनौँदेखि छलफलमा छन् । तर, सहमति जुटेको छैन । गठबन्धन दलले गत साउन २० गते नै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका थिए । त्यही बेला कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटको छलफल थालेका थिए । तर, अहिलेसम्म पनि गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।
नेताहरूले करिब एक सय सिटमा दलहरूको एकल दाबी रहेको र त्यसबाहेकका सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा समस्या रहेको बताएका छन् । सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार मात्रै सिट बाँडफाँटमा १० प्रतिशत मात्र विवाद मिल्न बाँकी रहेको दावी गर्नुभएको छ । दलहरू प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचनमा गठबन्धन गर्ने प्रयासमा छन् । तर, बढी सिट लिन खोज्ने गठबन्धनमा आबद्ध सबै दलको महŒवाकांक्षाले सिट बाँडफाँट भने टुंगो लाग्न सकेको छैन ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच