नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ ।

जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन गरेर कराँतेको प्रतिस्पर्धाका बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सातवटा टोली, विभागीयअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनएको एक टोली गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने भएका छन् ।

एउटा टोलीमा ३२ जना खेलाडीका दरले कुल ३५२, एक टोलीमा दुई प्रशिक्षक र दुई व्यवस्थापक गरेर चारजनाका दरले कुल ४४, देश तथा देशबाहिरबाट आउने निर्णायकहरू ७५, व्यवस्थापनका लागि स्थानीयबाट लिइने २५ सहित प्राविधिक र अन्य जनशक्तिसहित करिब छ सयजनाको सहभागिता रहनेछ ।

यही असोज २८ देखि कात्तिक २ गतेसम्म गरी पाँच दिनमा खेलहरू सम्पन्न गर्ने तयारी गरिएको नेपाल कराँते महासंघ नेपालका अध्यक्ष दावा गुरुङले बताउनुभयो । प्रतिखेलाडीले प्रतिदिन दुई हजार रुपैयाँका दरले भत्ता पाउने र आउँदाजाँदा भएको खर्च पनि दिनेगरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । ‘हामीले पाँच दिनमा कराँतेको संस्करण पूरा गर्नेगरी तयारी गरिरहेका छौं ।’

पर्वत जिल्लाका कराँते संयोजक राम श्रेष्ठका अनुसार खेलको तयारीस्वरूप अहिले कुश्माको बडागाउँस्थित सेमी कभर्डहलमा कराँतेको प्रतिस्पर्धा हुनेछ । अहिले खेल हुने स्थान आसपासको व्यवस्थापन गर्ने, सरसफाइ गर्नेलगायतका कामहरू भइरहेको उहाँले बताउनुभयो ।
‘कराँते खेलका लागि स्थानको व्यवस्थापनका लागि आवश्यकताअनुसार इञ्जिनियरको टोली पनि आउनेछ,’ संयोजक श्रेष्ठले भन्नुभयो, ‘हामीले खेललाई सफल पार्न, खेलाडीहरूलाई कम्तीमा पनि पर्वतको मायाको चिनो दिनेलगायतका कुरामा सघाउन स्थानीय तहहरूसँग कुराकानी गरिरहेका छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?