बडा दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज (बुधबार) बडा दशैँको तेस्रो दिन । आज चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उहाँलाई चन्द्रघण्टा भनिएको हो । उहाँलाई वीर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछ भनिएको छ । तेस्रो शक्तिको पूजाआराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान् हुने मनिन्छ । यस दिन पनि पूजापछि दूधबाट बनेको पदार्थ प्रसाद लगाउनाले सम्पूर्ण दुःख नाश हुने मानिएको छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भिड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गर्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?