उपाध्यक्षको दशैँ कोसेली: एकल महिलालाई खाद्यान्न

शुभकालिका गाउँपालिका-१ छातिका एकल महिला तथा विपन्न परिवारलाई दसैं कोसेली वितरण गरिदै ।

हिमालय टाइम्स
Read Time = 4 mins

-मानबहादुर बिश्वकर्मा
कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा बडा दशैँको अवसरमा एकल महिला तथा अति विपन्न परिवारलाई कोसेली वितरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले जनतासँग उपाध्यक्ष कार्यक्रमबाट गाउँपालिका भित्रका एकल महिला तथा अति विपन्न परिवारहरूलाई दसैं कोसेली वितरण गर्नुभएकाे हाे ।
गाउँपालिकामार्फत दशैँ कोसेलीका रूपमा पालिकाभरिका एकल महिला तथा अति विपन्न परिवारहरूलाई एक बोरा चामल, एक किलो चिनी, एक प्याकेट तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिएको छ ।

पालिका उपाध्यक्ष शाहीले दशैंका बेला खाद्य संस्थानमा चामल अभाव हुँदा यहाँका विपन्न नागरिकहरूले बजारबाट चर्को मूल्यमा खाद्यान्न खरिद गर्न समस्या हुने भएकाले आफूले पालिकामार्फत दशैँ कोसेली वितरण गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ’नेपालीहरूको महान चाड बडा दसैंका बेला एकल महिला र गाउँपालिकाभित्रका अति विपन्न परिवारको घरमा खुसीको चुलो बलोस् भन्ने हाम्रो चाहाना हो ।’ सहाराबिहीन तथा विपन्न परिवारको साथमा आँगनको सरकार छ भन्ने महसुस गराउन लागिएको उहाँले बताउनुभयाे ।

हुने खानेहरूको घरमा उत्साह र अभावसँग जुधिरहेका परिवारमा निराशाको दसैं नभई सबैको घरमा उत्साहका साथ दसैं मनाउने वातावरण बनाउनका लागि पनि यो कोसेली वितरण गरिएको हो । कोसेली पाएकी गंगा रामजालीले दशैँको मुखमा गाउँपालिका उपाध्यक्षले चामल, चिनी, तेल लगायतका दैनिक उपभोग्य सामानहरू दिएर आफूहरूलाई ठूलो राहत भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ’हामीलाई दसैंका दिन बालबच्चाहरूलाई मिठो मसिनो कसरी खुवाउने भन्ने चिन्ता थियो । बजारबाट मोटो चामल किन्नका लागि पैसा जोहाे गर्नै मुस्किल थियो । गाउँपालिकाले मसिनो चामलसहित चिनी, तेल समेत दियो । अब त दसैं मनाउन चिन्ता छैन् । हामीलाई सरकारले ठूलो राहत दियो ।’

शुभकालिका गाउँपालिका वडा नम्बर १ देखी ८ सम्म १ सय ७९ जना एकल महिलाहरू छन्। प्रत्यक वडाबाट छनोट भएका अति विपन्न ३२ परिवार गरी २ सय ११ परिवारहरूलाई एक एक बोरो चामल, एक प्याकेट तेल, एक किलो चिनी लगायतका दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिएको गाउँपालिकाका कर्मचारी गोपी तिमिल्सेनाले बताउनुभयाे ।

उहाँका अनुसार सबै वडाबाट मापदण्डमा परेका परेका परिवारहरूलाई पायक पर्ने स्थानमा पुगेर गाउँपालिका उपाध्यक्ष धर्मा शाहीसहितको टोलीले दसैं कोसेली वितरण गरिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?