सत्ता गठबन्धन : सिट बाँडफाँट अन्तिम चरणमा, आज अन्तिम रूप दिइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ ।

(जसपा) बाहिरिएपछि अहिले लोसपाले प्रवेश पाएको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभएको छ ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएको लोसपा नेता जितेन्द्र सोनलले जानकारी दिनुभएको हो । सिट बाँडफाँडका बारेमा पनि प्रारम्भिक छलफल भएको उहाँले बताउनुभयो । त्यसका लागि अहिले बैठक जारी छ ।

गठबन्धन र लोसपा नेताहरूबीच आज पुनः छलफलमा बसेर सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्ने सहमति भएको उहाँले बताउनुभयो । गठबन्धन र लोसपाबीच बिहान ८ बजेबाट बालुवाटारमा छलफल शुरु भएको हो ।

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै अन्तिम रूप दिन निर्णायक वार्तामा नेताहरू जुटेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?