गुल्मीमा ६६ जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुहुँदै । तस्बिर: रमेश विश्वकर्मा

हिमालय टाइम्स
Read Time = 4 mins

-रमेश विश्वकर्मा

गुल्मी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गुल्मीमा विभिन्न दल तथा स्वतन्त्रबाट ६६ जनाले उम्मेदवारी दिनुभएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २४ जना र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४२ जना गरी सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् संविधानसभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिपकुमार ज्ञवालीसहित ११ जनाले उम्मेदवारी दर्ता गराउनुभएको भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा (एस) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट सहित १३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै, चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामाणी पाण्डेसहित ११ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे सहित १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल सहित १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा सत्तारुढ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी सहित ९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?