भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । समाजवादी पार्टीका संस्थापक तथा भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उहाँको निधन भएको हो । यादव गत २ अक्टोबरदेखि उक्त अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो ।

समाजवादी पार्टीले आफ्नो आधिकारिक ट्वीटर हृयाण्डलबाट सिंहको निधनबारे जानकारी दिएको हो । अखिलेश यादवले आफ्ना आदरणीय पिताको निधन भएको उल्लेख गर्नुभएको थियो । विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी हुनुहुन्थ्यो र लगातार अस्पतालमा जाने गर्नुभएको थियो । उहाँ बहालवाल सांसद पनि हुनुहुन्छ । तर, उहाँ धेरै सक्रिय हुनुहुन्थेन र सार्वजनिक सभाहरूमा विरलै देखिनुहुन्थ्यो । उहाँ हाल मैनपुरी सिटबाट लोकसभा सांसद हुनुहुन्थ्यो । यादव तीनपटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । यस्तै उहाँ संघीय सरकारमा रक्षामन्त्रीसमेत बन्नुभएको थियो । हाल उहाँका छोरा अखिलेश यादव समाजवादी पार्टीका प्रमुख रहनुभएको छ ।

यादव आठपटक विधायक र सातपटक लोकसभा सांसद पनि निर्वाचित हुनुभएको थियो । उहाँले दुईवटा विवाह गर्नुभयो । मे २००३ मा मृत्यु हुनुभएकी उहाँकी पहिलो पत्नी मालती देवी अखिलेश यादवकी आमा हुनुहुन्थ्यो । मुलायमले साधना गुप्तासँग दोस्रो विवाह गर्नु भएको थियो । मुलायम सिंह र साधनाका छोराको नाम प्रतीक यादव हो । हालै साधनाको निधन भएको थियो । यादवको जन्म २२ नोभेम्बर १९३९ मा इटावा जिल्लाको सैफई गाउँमा भएको थियो । उहाँका बुबा सुगरसिंह यादव किसान हुनुहुन्थ्यो ।

उहाँ पहिलोपटक सन् १९६७ को चुनावमा जसवंतनगर विधानसभा सिटबाट चुनाव लडनुभएको थियो । त्यसबेला उहाँ २८ वर्षको हुनुहुन्थ्यो । उहाँ राज्यको इतिहासमा सबैभन्दा कान्छो विधायक बन्नुभएको थियो । विधायक बनेपछि उहाँले एमएको पढाइ पूरा गर्नुभयो । सन् १९७७ मा उत्तर प्रदेशमा रामनरेश यादवको नेतृत्वमा जनता पार्टीको सरकार बनेपछि मुलायम सिंहलाई सहकारीमन्त्री बनाइएको थियो । त्यतिबेला उहाँको उमेर ३८ वर्ष थियो ।

प्रथम राष्ट्रपति रामवरण यादवको पहिलो निजी अतिथि
दिवंगत मुलायम सिंह यादव नेपालमा गणतन्त्रको घोषणापछि पहिलो राष्ट्रपति डा.रामवरण यादवका निजी अतिथिको रूपमा २०६५ भदौमा नेपाल आउनुभएको थियो । उहाँ यादवका पहिलो राजकीय अतिथि (स्टेट गेष्ट) हुनुहुन्थ्यो । करिब तीन दिनको नेपाल बसाइका क्रममा भारतको केन्द्रीय सरकारका रक्षा मन्त्री र पटक-पटक उत्तर प्रदेशका मुख्यमन्त्री रहनुभएका समाजवादी दलका नेताको सम्मानमा यादवले रात्रिभोज दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?