सर्लाहीका दम्पतीको लमजुङमा लेक लागेर मृत्यु

Read Time = 2 mins

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ । दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो ।

योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । करिब चार हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । उनकी श्रीमती भने हराइरहेकी थिइन् । उनको शव शनिबार फेला परेको थियो । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा तीन दिन लाग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?