फेन्सिङको पहिलो स्वर्ण बागमतीलाई

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । बागमती टिमले महिला व्यक्तिगत सावर विधामा स्वर्ण जितेको हो । शिक्षा नापितले बागमतीका लागि नवौंमा पहिलो स्वर्ण दिलाउनुभएको हो । उहाँले एपिएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो । तेस्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहनुभयो ।

पोखराको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा इपी महिला व्यक्तिगततर्फ सेनाले बर्चस्व बनायो । सेनाकी इन्दिरा पौडेलले स्वर्ण जित्दा सीता पाठक रजतमा खुम्चिनुभयो । यस्तै, सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङ्तानले जित्नुभयो ।

पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जित्नुभयो । उहाँले बागमतीका सञ्जीव लामालाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो । सेनाका वीरसिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदमा चित्त बुझाउनुभयो ।

विजयी खेलाडीहरूलाई बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य-सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गर्नुभएको थियो ।

प्रतियोगितामा दुई विभागीयसहित ६ टिमको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागिता जनाएका छन् ।

फेन्सिङअन्तर्गत इपी, फोयल र सावर गरी तीन इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउण्ड रोविनका आधारमा हुने प्राविधिकले जनाएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो । पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?