नवौं राष्ट्रिय खेलकुदः उद्घाटन उपराष्ट्रपतिबाट

हिमालय टाइम्स
Read Time = 10 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने हुनुभएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएकोमा उहाँलाई कोरोना संक्रमण भएपछि असोज २८ गते हुने औपचारिक समारोहको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने हुनुभएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले नवौंको उद्घाटनका लागि उपराष्ट्रपति पुनलाई निमन्त्रणा पत्र दिनुभएको छ । उहाँले उपराष्ट्रपति पुनलाई भेटेर उद्घाटन सत्रको प्रमुख अतिथिका रूपमा आतिथ्यता ग्रहणका लागि अनुरोधसमेत गर्नुभएको छ ।

कोभिडको संक्रमणबाट अस्पताल भर्ना हुनुभएकी राष्ट्रपति भण्डारी भने बुधबारमात्र डिस्चार्ज हुनुभएको थियो । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपतिबाट र समापन प्रधानमन्त्रीबाट गराउने राखेपको तयारी छ । प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुँदैछ ।

एपिएफ र सुदूरपश्चिमको जित
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित हात पारेका छन् । पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो ।

पोखराको क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अश्मिना कर्माचार्यले नटआउट १९ रनको योगदान गर्नुभयो । त्यस्तै, सुमन खतिवडाले १९ रन बनाउँदा बागमतीका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बागमतीलाई सस्तैमा समेट्न एपिएफकी रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक/एक विकेट लिँदा अन्य चार खेलाडी रनआउट भएका थिए । ९० रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले चार बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । एपिएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिनुभयो । त्यस्तै, एपिएफकी कप्तान सीता रानामगरले १६, ममता चौधरीले १७, इन्दु बर्माले ५ रन बनाउँदा ओपनर ज्योति पाण्डे एक रनमै पविलियन फर्किनुभएको थियो ।

एपिएफकी नेरी थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहनुभयो । बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई-दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिनुभयो । खेलको वुमन अफ दी म्याच एपिएफकी नेरी थापा हुनुभयो ।

दिनको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान सृष्टि जैशीले सर्वाधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले एक/एक विकेट लिनुभयो । ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहनुभयो । गण्डकीकी शिला क्षेत्रीले दुई तथा सृष्टि जैशीले एक विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी ऋतु कनौजिया हुनुभयो । सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो ।

राजेन्द्रलाई स्वर्ण
एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङअन्तर्गतको सावर विधामा एपिएफका लागि स्वर्ण जित्नुभएको छ । उहाँले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५-१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाउनुभएको हो । एपिएफका खेम खत्री र सेनाका रघुवीर चन्द संयुक्त तेस्रो हुँदै कास्य पदक प्राप्त गर्नुभयो ।

इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोस्रो स्वर्ण जोड्नुभयो । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गर्नुभएको हो । ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जित्नुभएको हो । तेस्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहनुभयो ।

फ्वलको महिलातर्फको प्रतिस्पर्धामा सेनाकी रमाकुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल हुनुभयो । उहाँले एपिएफकी मनिषा राईलाई १५-१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बन्नुभयो । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाउनुभयो ।
नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङमा ६ स्वर्णको छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ । पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो ।

हृयाण्डबल
नवौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत महिला हृयाण्डबलमा गण्डकी प्रदेशले दोस्रो दिन जित निकालेको छ । गण्डकीकी योगिता गुरुङको ७ गोलको मद्दतले सुदूरपश्चिमलाई २७-४ गोल अन्तरले पराजित गर्न सफल भयो । पोखरा बहुउद्देश्यीय कभर्डहलमा भएको प्रतियोगितामा कर्णाली प्रदेश र प्रदेश १ ले पनि जित निकाले ।
कर्णालीले मधेश प्रदेशलाई ११–७ गोल अन्तरले पराजित ग¥यो । कर्णालीकी अञ्जली शाही र संगीता सिंहले समान ५ गोल गर्नुभयो । प्रदेश नं. १ की प्रेक्षा कटुवालको ८ गोल मद्दतले बागमतीलाई २४–८ ले पराजित गरेको हो ।
पुरुषतर्फ बागमती र लुम्बिनीले जित निकाले । बागमतीका सोनाम राकेश शेर्पाको ५ गोल मद्दतमा मधेश प्रदेशलाई २१–१३ गोल अन्तरले र लुम्बिनीले प्रदेश १ लाई २९-४ ले पराजित गरेको हो । लुम्बिनीका शरण थापाले आफ्नो टोलीका लागि १५ गोल गर्नुभयो ।

वाणिज्य बैंकको प्रायोजन
राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्बीच राष्ट्रिय प्रायोजनसम्बन्धी सम्झौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै वाणिज्य बैंकले प्रायोजन सम्झौता गरेको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका महाप्रबन्धक किरणकुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले हस्ताक्षर गर्नुभयो । वाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगोसहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेलस्थल वरिपरि होर्डिङ बोर्ड, स्टल, ब्यानरलगायत विज्ञापनका सामग्रीहरू प्रयोग गर्न पाउनेछ भने विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा प्रमुख अतिथिका रूपमा सम्मान प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?