पाँचथरका ३४ मतदानस्थल अति संवेदनशील सूचीमा

हिमालय टाइम्स
Read Time = 3 mins

जितेन्द्र भण्डारी/हिटा
पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरका ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरूको वर्गीकरण गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेको भनाइ छ । वर्गीकरण गरिएमध्ये फिदिम नगरपालिकाका नौ, फालेलुङ गाउँपालिकाका ११, तुम्बेवाको एक, फाल्गुनन्दका तीनवटा र मिक्लाजुङका आठवटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रजिअ गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार फिदिम नगरपालिकाका तीन, याङवरक गाउँपालिकाका नौ, हिलिहाङका ११, कुम्मायकका १०, तुम्वेवाका आठ, फाल्गुनन्दका १२ र मिक्लाजुङका पाँचवटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ ।

यस्तै, फिदिम नगरपालिकाका नौ र याङवरक गाउँपालिकाको एक गरी नौवटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने प्रजिअ गैरे बताउनुहुन्छ ।
अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसँगै कर्मचारी व्यवस्थापन आदि पनि पर्छन् । निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदान पश्चात्को सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताकै आधारमा गरिने सुरक्षा समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?