अर्थतन्त्रमा चुनौती कायमै

Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमी तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएका कारण शोधनान्तर स्थितिमा परेको प्रभाव अर्थतन्त्रको प्रमुख चुनौती बनेको बताउनुभएको छ । शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) द्वारा काठमाडौंमा आयोजित दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनमा उहाँले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्रासमेत अवमूल्यन भएको र डलर मूल्य बढेका कारण नेपालमा आउने रेमिट्यान्स बढे पनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको बताउनुभएको हो ।

ढुंगानाले राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई कसिलो बनाइराख्नुपर्ने अवस्था रहेको पनि बताउनुभएको छ । आन्तरिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अघि बढाउनुपर्नेमा ढुंगानाको जोड थियो । उहाँले पर्यटन क्षेत्र र जलविद्युत्को उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औद्योगीकरणमा विशेष जोड दिँदै अर्थतन्त्र उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । साथै ढुंगानाले बैंक तथा वित्तीय संस्थाले तरलता समस्या खेप्नुपरेको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

सोही कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्यु भएको बताउनुभयो । नेपालको जिडिपी जति हो, त्यो सबै एकाउन्टमा नआएको भन्दै उहाँले जिडिपी अहिलेभन्दा बढी हुनुपर्ने भए पनि विभिन्न कारणले ठोसरूपमा तथ्यांकमा आउन नसकेको बताउनुभययो । सरकार तथा अन्य सबै निकायलाई तीन-चार वर्षदेखि मुलुकको जिडिपी राजस्व संकलनलगायतका हिसाबले हेर्दा कम र सरकारले हालसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवा जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको दाबी गर्नुभयो । उहाँले मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो । अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुपर्ने उहाँको भनाइ थियो । मुलुकको दिगो विकासलाई अघि बढाउन र युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको दाबी गर्दै उहाँले युवाले खोजेको रोजगारी र नेपाल बनाउन प्रत्यक्ष निर्वाचनमा उठेको जिकिर गर्नुभयो । आफूले चार्टर्ड अकाउन्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै हाल चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने गरेको पनि उहाँले गुनासो गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र रेमिट्यान्समा आधारित भएको भन्दै जोेस जाँगर भएका युवा काम गर्नकै लागि विदेश जाँदा देशमा काम गर्न सक्ने जनशक्ति कम हुँदै गएको बताउनुभयो । राज्यतर्फबाट विकासको मोडल बनाउन नसक्दा काम गर्न सक्ने जनशक्ति विदेशिन बाध्य हुनुपरेको उहाँको भनाइ थियो । साथै उहाँले अर्थतन्त्रमा दबाब नै नभएको तर मनोवैज्ञानिक असर परेको भन्दै अहिलेको स्थितिबाट अर्थतन्त्र छिट्टै निस्किने दाबी पनि गर्नुभयो । उहाँले बैंकले ब्याजदर बढाउँदा उद्योगीलाई समस्या परेको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?