सुनकोसी-मरिण आयोजनामा ऊर्जामन्त्री

Read Time = 6 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्र समृद्ध बनाउने आधार भएको बताउनुभएको छ । शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारमा आयोजनाको अनुगमन तथा निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । समग्र वर्तमान प्रगतिको अवस्था तथा टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ मार्ग खन्न सुरु गर्ने कार्यको अनुगमन तथा निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आयोजनाले भौतिक पूर्वाधारको हिसाबले मात्र नभई आर्थिक विकासका हिसाबले पनि ठूलो परिवर्तन ल्याउने बताउनुभयो । आयोजनाले देशले बेहोर्दै आएको असन्तुलित व्यापार घाटा कम गराउन सहयोग पुग्ने उहाँको दाबी थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले २० फागुन २०७७ मा शिलान्यास गर्नुभएको आयोजना सक्न ४६ अर्बभन्दा बढी लाग्ने अनुमान छ ।

तराईको जमिनमा पर्याप्त सिँचाइ सुविधा पुगी वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने मन्त्री भुसालले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘आयोजनाबाट उत्पादित ३१.०७ मेगावाटको विद्युत्बाट झण्डै एक अर्ब ५५ करोड आम्दानी हुन्छ, कृषि उत्पादन बढ्छ । कृषिको आयातले भएको व्यापार घाटा रोक्छ । खाद्यान्नमा विदेश जाने पैसा बचेर त्यसले देशको आयस्तरलाई माथि उठाउँछ । रोजगारी सिर्जना गर्छ ।’

आयोजना प्राविधिकरूपमा पनि एकदमै ठूलो भएको भन्दै उहाँले पैदल हिँड्ने मानिस गाडीमा हिँडेजस्तो र गाडीमा हिँड्ने मानिस जहाजमा हिँडेजस्तो ठूलो रिभुलेसनका रूपमा रहेको बताउनुभयो ।

मन्त्री भुसालसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशिलचन्द्र आचार्य, उपमहानिर्देशक रुक्मागत खनालसहितको टोलीले आयोजनाको समग्र वर्तमान प्रगतिको अवस्था तथा टिबिएमबाट सुरुङ मार्ग खन्न सुरु गर्ने कार्यको अनुगमन तथा निरीक्षण गरेको हो । सुनकोसी-मरिण डाइभर्सन आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि नै टिबिएमबाट खन्न सुरु भएको आयोजना निर्देशक मित्र बरालले जानकारी दिनुभयो । कमलामाई नगरपालिका-२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टिबिएम मेसिनमार्फत् औपचारिकरूपमा सुरुङ खन्ने काम सुरु भएको हो । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता लागू भएका कारण मन्त्रीसहितको टोली सुरुङ मार्गस्थल आएर पनि औपचारिक कार्यक्रम गरेर सुरुङ खन्ने कार्य सुरु गर्न नसकिएको उहाँको भनाइ थियो ।

निर्माण व्यवसायीले हालसम्म आयोजनालाई पेश गरेको कार्यतालिकाअनुरूप सुरुङ खन्ने क्रममा कुनै भौगर्भिक समस्या नआए आगामी २४ महिनाभित्र सुरुङ मार्गको कार्य सम्पन्न हुनेछ । यस अवधिमा कुसुमटारबाट खन्न सुरु भएको सुरुङ मार्ग खुर्कोटमा निस्कनेछ । सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी १३.३ किलोमिटर सुरुङ बनाइनेछ । प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका-२ कुसुमटारमा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाका संरचनामार्फत् तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउनुका साथै ३१.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना निर्देशक बरालले जानकारी दिनुभयो । बरालका अनुसार सुनकोसी-मरिण आयोजना अन्तर जलाधार जल स्थानान्तरण गर्ने बहुउद्देश्यीय आयोजना हो । आर्थिक वर्ष २०७७/०७८ बाट सुरु भएको आयोजना २०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । आयोजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गर्नुभएको थियो । सुरुङसहित आयोजना सक्न ४६ अर्बभन्दा बढी लाग्ने अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?