इन्जुरी समयमा रियल म्याड्रिडको जित

Read Time = 3 mins

लण्डन । इंग्लिस मिडफिल्डर जुड बेलिंमले इन्जुरी समयमा गरेको गोलबाट रियल म्याड्रिडले शनिबार भएको स्पेनिस ला लिगा फुटबलमा गेटाफेमाथि दुई-एकको रोमाञ्चक जित हात पारेको छ । निर्धारित समयमा खेल एक-एकको बराबरीमा रोकिँदा बेलिंघमले इन्जुरी समयमा गोल गर्दै म्याड्रिडलाई जित दिलाउनुभयो । खेलको ११औँ मिनेटमा गेटाफेले बोर्जा मायोरालको गोलबाट अग्रता लियो । दोस्रो हाफको सुरुवाती समयमै जोसेलुले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

इन्जुरी समयमा लुकास भास्केजले प्रहार गरेको सट गोलरक्षक सोरियाको हातबाट फुत्किँदै बेलिंघमको खुट्टामा पुगेको थियो । त्यसलाई बेलिंघमले पोष्टको दिशा दिनुभयो । जितसँगै म्याड्रिड चार खेलमा १२ अंकसहित तालिकाको पहिलो स्थानमा छ । गेटाफे भने चार अंकसहित १४औँ स्थानमा छ ।

यता एर्लिङ हालाण्डको हृयाट्रिकको मद्दतमा इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई पाँच–एक गोलअन्तरले पराजित गरेको छ । सिटीका लागि बाँकी दुई गोल नाथन आके र जुलियन अल्भारेजले गर्नुभयो ।

खेलको ३१औँ मिनेटमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाउनुभयो । त्यसको दुई मिनेटपछि नै टिम रेमले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याउनुभयो । पहिलो हाफको अन्तिम मिनेटमा नाथन अकेले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो ।

त्यसपछि खेलको ५८औँ, ७०औँ र इन्जुरी समयमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । यो जितसँंगै सिटी प्रिमियर लिगको पहिलो स्थानमा रहेको छ । सिटीको चार खेलमा शतप्रतिशत नतिजा निकाल्दै १२ अंक छ । फुलहम भने चार अंकसहित १३औँ स्थानमा छ ।

त्यस्तै, अर्काे खेलमा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड एन्थोनी इलांगाको एकमात्र गोलमा नटिंघम फरेस्टले चेल्सीलाई पराजित गर्‍यो । हारपछि चेल्सी चार अंकसहित ११औँ स्थानमा छ भने फरेस्ट ६ अंकसहित नवौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?