गौरक्षाका लागि धार्मिक अभियान

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 6 mins

डडेल्धुरा । नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण गर्न डडेल्धुरामा अखण्ड भजन किर्तन तथा धार्मिक प्रवचन कार्यक्रम गरिएको छ ।

ॐकार सनातन हिन्दु प्रतिष्ठान डडेल्धुराको आयोजनामा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. २ बडालमा स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा गौमाता बचाउ तथा धार्मिक प्रवचन अखण्ड रात्रीकालिन संकिर्तन कार्यक्रम गरिएको हो ।

दूध दिन छाडे पछि सडकमा गाईलाई छाड्ने प्रवृतिलाई धार्मिक सत्संग जागरण मार्फत् निरुत्साहित गर्ने उद्देश्यले गाई हिन्दुहरुको आमा भएकोले गौमाताको हत्या रोक्न तथा छाडा नगर्न अनुरोध गर्दै स्थानीय गाईबस्तुपालकलाई आध्यात्मिक ज्ञान प्रदान गर्दै अभिमुखिकरण गर्ने अभियान रहेको प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय जनावर तथा धार्मिक महत्व रहेको गाईलाई सरकारले छाडा चौपाया भनेर अपमान गरेको भन्दै गाईको आवश्यकता मानव जीवनको जन्म देखि मृत्यु सम्म बैदिक संस्कृतिमा आधारित दूध दहि घिउ तथा गोबर गहुँतसहितमा औषधिय तथा शुभ गुणयुक्त रहेकोले गाईको संरक्षणमा सबैले संबेदनशिल हुन भजन र प्रवचनका माध्यमबाट अभियान थालनी भएको जनाईएको छ ।

शुक्रवार सन्ध्याकालिन समयमा लाटागन्याप देवताको मन्दिर भित्र बिधिवत पूजा गरि मन्त्रोच्चारणसहित उद्घाटन गरिएको उक्त कार्यक्रममा धार्मिक व्यक्तित्व विद्वान पंडित शास्त्री जयप्रसाद जोशीले गाईलार्ई धर्ती माता, जननी माता र गौमाताको रुपमा सर्बोदेवाह प्रतिष्ठाम भनेर पूजित हुने भएकाले पवित्र गाईलाई मानव सभ्यता र १६ संस्कारको अपरिहार्य श्रोतधनको रुपमा मानिदै आएको बताउनु भयो ।

गौमातालाई बैदिककालमा, सत्ययुग, त्रेतायुग, द्वापरयुगका बिभिन्न प्रसंग र कथाहरुमा बिशिष्ट महत्व रहे पनि कलियुगमा मानवजातीले आफू अनुकुल गाईलाई प्रयोग, दुरुपयोग र बैदिक संस्कारहरुमा स्वार्थ केन्द्रीत बिधिहरुमा चलेका कारण बिकृति आएको बताउँदै गाईको अस्तित्व मेटाउने तर्फ राज्य, सरकार र बिदेशी संयन्त्रहरु बिभिन्न चलखेलका साथ उद्दत रहेको तर्फ स्थानीयलाई खबरदारी गर्न सुझाएका छन ।

धर्म निरपेक्षताका नाममा हिन्दुहरुका, नेपालीका सबै संस्कृति र धर्महरुमा नियोजित रुपले आक्रमण भईरहेका घटनाहरु सार्वजनिक भईरहेका छन, खुलेआम गाईको हत्या भईरहेको छ गाईलाई खोलामा बगाईदैछ जसमा सरकारको मौनताले गाईको बिनाश गर्ने कुरामा प्रसय दिईरहेको स्पष्ट भईरहेकोले गाई माथी संकट मात्र आएको छैन सत्वगुणको पनि विनास भईरहेकोले नागरिक स्वयं जागरुक हुनु पर्ने धारणा पंडित जोशीले राख्नु भयो ।

आयोजक तथा प्रतिष्ठान डडेल्धुराका अध्यक्ष तिलक हमालले गाईको अवस्था ग्रामीण क्षेत्रमा संरक्षण गर्दै बचाउनु पर्नै र बजार क्षेत्रमा अलपत्र रहेका गौमातालाई संरक्षण गर्न व्यवस्थित गौशालाको व्यवस्था गर्न आम जनतासँग एक छाक गौलाई, अरुछाक मौलाई भन्ने मूल नाराका साथ अनुरोध गर्दै अभियान गन्यापधुराबाट शुरु भएको घोषणा गर्दै पवित्र उद्देश्य बोकेको यस अभियानलाई साथ र सहयोगका लागि स्थानीयसँग आग्रह पनि गरेका छन ।

देवी देवताका धामी पुजारी, गाउँपालिकाका अध्यक्षलगायत वडाध्यक्षहरु, सन्तसमाज, सामाजिक व्यक्तित्वसहित सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम जिल्लाका अन्य स्थानीय सम्म बिस्तार गर्ने प्रतिष्ठानले जनाएको छ ।

सयौं महिला पुरुष बालवालिकाको सहभागिता रहेको अखण्ड भजनकिर्तन तथा धार्मिक प्रवचन कार्यक्रममा सन्त गौरीशंकर महाराजले योग साधना कला र महिलाहरुले गाई संरक्षणमा प्रतिबद्धता झल्किने साँस्कृतिक फाग तथा भजन पनि प्रस्तुत गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?