नवौं राष्ट्रिय खेलकुद : पदक तालिकामा आर्मी दोब्बरले अघि, नेपाल पुलिस दोस्रोमा

हिमालय टाइम्स
Read Time = 29 mins

यज्ञराज जोशी/हिटा
पोखरा ।  गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले बुधबार साँझसम्म ११४ स्वर्ण, ७६ रजत र ५८ कास्यसहित २४८ पदक जितेर तालिकाको शीर्षस्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्य गरी कुल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बलको (एपिएफ)ले ३७ स्वर्ण, ४३ रजत र ४९ कास्य पदक जितेको छ । उसले हालसम्म कुल १४६ पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लोपटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले २४ स्वर्ण, २३ रजत र ३९ कास्यसहित ८६ पदक जितेको छ । बागमतीले १९ स्वर्ण, ३३ रजत र ४३ कास्यसहित ९५ पदक हासिल गरेको छ ।

यस्तै, एनआरएनएले १० स्वर्ण, सात रजत र ६ कास्य गरी २३ पदक ल्याएको छ । सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २४ कास्यसहित ३२ पदक जित्दा मधेश प्रदेशले पाँच स्वर्ण, २० रजत र ३४ कास्यसहित ३६ पदक, प्रदेश १ ले पाँच स्वर्ण, २० रजत र ३४ कास्यसहित ५९ पदक ल्याएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण, १५ रजत र २६ कास्यसहित ४४ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र नौ कास्य गरी १२ पदक ल्याएको छ ।

पौडीमा आर्मी च्याम्पियन
नवौंं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो । एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदकसहित तेस्रो भयो । प्रतियोगिताको अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । महिला ४०० मिटर फ्रिस्टाइलमा दुवाना लामाले स्वर्ण जित्नुभएको छ । उहाँले चार मिनेट ४३.९२ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको हो । पुलिसकी मिगन गुरुङले पाँच मिनेट ४.३८ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जित्नुभयो भने बागमती प्रदेशकी टिसा महर्जनले पाँच मिनेट ७.३६ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पार्नुभयो ।

त्यस्तै, पुरुष चार सय मिटरमा एनआरएनएका आशिष सापकोटाले स्वर्ण जित्नुभयो । उहाँले चार मिनेट ३५.३६ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको छ । प्रदेश १ का प्रारम्भ भण्डारीले पाँच मिनेट १२.०९ सेकेण्डमा पूरा गर्दै रजत पदक जित्नुभयो भने एपिएफका सुरेनबहादुर सिंहले पाँच मिनेट १२.१५ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पार्नुभयो । त्यसैगरी महिला एक मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले एक मिनेट १६.६३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुका साथै नयाँ कीर्तिमान पनि कायम गर्नुभएको छ ।

आर्मीकै उपस्ती महर्जनले एक मिनेट २२.३९ सेकेण्डमा पूरा गर्दै रजत र नेपाल पुलिसकी अदिप्सा वैद्यले एक मिनेट २२.६७ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पार्नुभएको छ ।

टेबल टेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन
टेबल टेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । बुधबारको प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रहरी ६ स्वर्ण, दुई रजत र चार कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रूपमा रहेको सशस्त्र प्रहरीले एक स्वर्ण, चार रजत र एक कास्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रहृयो ।

त्यस्तै, बागमती प्रदेशले एक रजत र दुई कास्यसहित तेस्रो स्थान प्राप्त गर्‍यो । प्रतियोगितामा आर्मीले दुई कास्य, एनआरएनएले दुई कास्य, प्रदेश १ ले दुई कास्य र गण्डकी प्रदेशले एक कास्य पदक हात पारेका छन् ।

महिला सिंगल्सको स्वर्ण पदक नविता श्रेष्ठले हात पार्नुभएको छ । पदक विजेता श्रेष्ठले ११-८, ११-६, १२-१४, ११-८, ९-११, ६-११, १३-१५ को ३-४ सेटमा एलिना महर्जनलाई पराजित गर्नुभएको हो ।

प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुनुहुन्छ । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल बन्नुभयो भने एलिनाले रजत पदक जित्नुभयो । प्रतियोगितामा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जन कास्य पदक पाउन सफल बन्नुभयो । यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठ स्वर्ण पदक पाउन सफल हुनुभयो ।

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपिएफका रुविन महर्जनलाई ११-८, ११-७, ११-९, ६-११, ११-६ को ४-१ सेटले पराजित गर्नुभएको हो । श्रेष्ठ पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल बन्नुभयो भने रुविनले रजतमा चित्त बुझाउनुपर्‍यो । यसैगरी नेपाल प्रहरीका प्रदीप रोका र एपिएफका संयोग कपालीले कास्य पदक प्राप्त गर्नुभयो । प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेश पदकविहीन बने ।

एथ्लेटिक्स
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपूरा पछाईलाई पछाडि पार्दै स्वर्ण पदक जित्नुभएको छ । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेण्डमा पूरा गर्नुभयो ।
स्वर्ण पदक जित्नुभएकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटका कारण पूरा गर्न नसकेको बताउनुभयो । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा १६ मिनेट ४९.५९ सेकेण्डको कीर्तिमानी छ । त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जित्नुभएको थियो । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाउनुभएकी पुलिसकी खेलाडी राजपूराले १७ मिनेट १२.०५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जित्नुभयो । उहाँले निर्धारित दूरी १८ मिनेट ०३.०० सेकेण्डमा पूरा गर्नुभयो ।

एथ्लेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पार्नुभएको छ । उहाँले निर्धारित दूरी ५३.५३ सेकेण्ड समय खर्चदै पूरा गर्नुभयो । सोही स्पर्धामा आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेण्ड समय लगाउँदै रजत पदक जित्नुभयो । सशस्त्र प्रहरी बल (एपिएफ) का निरप्रताप महतोले कास्य जित्नुभयो । उहाँले ५३.९२ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जित्नुभयो ।

त्यस्तै, एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपिएफ क्लबकी फूलमती रानाले स्वर्ण पदक जित्नुभयो । उहाँले निर्धारित दूरी दुई मिनेट २७.३६ सेकेण्ड समय खर्चदै स्वर्ण जित्नुभएको हो । सोही स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७.५० सेकेण्डको समय लगाउँदै रजत पदक जित्नुभएको हो । आर्मीकी रेखा लिम्बूले कास्य जित्नुभयो । उहाँले निर्धारित दूरी दुई मिनेट ३०.४८ सेकेण्डको समय लगाउँदै कास्य जित्नुभएको हो ।

यस्तै, पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्नुभयो । सोमले निर्धारित दूरी एक मिनेट ५४.०८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्नुभएको हो । सो स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत जित्नुभयो । उहाँले एक मिनेट ५५.२१ सेकेण्डसहित रजत जित्नुभयो । त्यस्तै, आर्मीका सुनिल सुनारले एक मिनेट ५५.५२ सेकेण्डसहित कास्य जित्नुभयो ।

यसैगरी एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपिएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मिलित टोलीले ४९.६० सेकेण्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
मनिषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्ती सम्मिलित गण्डकी प्रदेशले ५२.७५ सेकेण्डको समय निकाल्दै रजत जितेको छ । रजिना दुलाल, स्वागता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य सम्मिलित बागमती प्रदेशले ५२.७६ सेकेण्डसहित कास्य जितेको छ ।

सोही स्पर्धाको पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपिएफ टोलीले ४२.४४ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेको हो । जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२.६० सेकेण्डसहित रजत जित्यो भने सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित लुम्बिनी प्रदेशले ४४.३८ सेकेण्डको समय निकाल्दै कास्य जितेको छ ।

ज्याभ्लिन थ्रो
एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकलाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ । चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जित्नुभएको हो । आर्मी क्लबकी लक्ष्मी थारुले नेपालमा नै भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

सो स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पार्नुभएको छ । कास्य जितेकी एपिएफकी सीमा चौधरीले ४५.२० मिटर थ्रो गर्नुभयो । यसै विधाको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जित्नुभएको छ ।

ज्याभ्लिन थ्रोको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जित्नुभएको छ । रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्नुभयो । सोही स्पर्धामा एपिएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत पदक हात पार्नुभयो । एपिएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कास्य पदक हात पार्नुभयो ।

तेक्वान्दो
तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । म्याग्दीको बेनीमा सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, चार रजत र एक कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । सात स्वर्ण, आठ रजत र दुई कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दोस्रो तथा तीन स्वर्ण, दुई रजत र नौ कास्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

मधेश प्रदेशले १ स्वर्ण, दुई रजत र पाँच कास्य, प्रदेश १ ले आठ कास्य, बागमतीले १ रजत र तीन कास्य, गण्डकीले सात कास्य, लुम्बिनीले दुई रजत र चार कास्य, कर्णालीले तीन कास्य, सूदुरपश्चिम र एनआरएनएले एक-एकवटा रजत पदक जितेका छन् ।

सेपाकताक्रो
सेपाकताक्रोका तीनवटै विधाका ६ स्वर्णमध्ये पाँच स्वर्ण विभागीय टिम आर्मीले जितेको छ । पुरुष रेगुतर्फको फाइनलमा विभागीय टोली आर्मीले गण्डकीलाई दुई–एकको सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि सन्जित धिमाल, सूर्य चौधरी, उमेश महतो, दिपेशजंग थापा, रोशन तामाङको समूहले स्वर्ण जितेको हो । विभागीय टिम आर्मीले योसँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिलातर्फका तीनवटै र डबल विधाको पुरुषतर्फको एक स्वर्ण र रेगु विधाको पुरुषतर्फ एक स्वर्ण गरी पाँच स्वर्ण जितेको हो ।

महिला भलिबल
महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो । बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५-१२, २५-२१ र २५-१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतीलाई २५-२० अन्तरमा जितेको थियो । विभागीय टिम सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सशस्त्रले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

महिला हक्की
महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ । बुधबार भएको फाइनल खेलको टाइब्रेकरमा गण्डकीलाई ३-० को गोलअन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ, सीतामाया बलले गोल गर्नुभयो । त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्मीका तर्फबाट सरस्वती तामाङले एक गोल गर्नुभएको थियो ।

यस्तै, महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले कास्य पदक जितेको छ । सुदूरपश्चिमले २-० को गोलअन्तरले प्रदेश १ लाई हराएको हो । सुदूरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गर्नुभएको छ । प्रतियोगितामा सात टिम सहभागी थिए ।

आर्चरी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । कुल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक सात स्वर्ण, चार रजत र एक कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित कुल नौ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो बन्दा उसले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित आठ पदक जित्यो ।

नेपाल पुलिस क्लब एक स्वर्ण, दुई रजत र एक कास्यसहित कुल चार पदक जितेर चौथो बन्दा प्रदेश १ ले दुई रजत जितेर पाँचांै, सुदूरपश्चिमले एक रजत र दुई कास्यसहित तीन पदक तथा बागमती प्रदेशले एक कास्यमात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रहृयो ।

रग्बी
रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ एपिएफले लुम्बिनी प्रदेशलाई १०-७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०-० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो ।

पुरुषतर्फ गण्डकी प्रदेशले कास्य पदक जितेको छ । कास्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०-५ को स्कोरमा पछि पार्दै विजयी भएको हो । महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५-० ले पराजित गर्दै कास्य पदक जितेको हो ।

ट्रायथलन
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ट्रायथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक–एक स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्रायथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जित्नुभयो ।

पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७५० मिटर पौडी र पाँच किमी दौड एक घण्टा नौ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जित्नुभयो । महिलातर्फ भने निर्धारित दूरी एक घण्टा १६ मिनेट २८ सेकेण्डमा पार गर्दै एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जित्नुभयो ।

प्रतियोगिताको पुरुषतर्फ निर्धारित दूरी एक घण्टा १० मिनेट पाँच सेकेण्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जित्नुभयो भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दूरी एक घण्टा १४ मिनेट ५६ सेकेण्डमा पार गर्दै कास्य पदकमा चित्त बुझाउनुभयो ।

साइक्लिङ
पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दूरी एक घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पूरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल हुनुभयो । त्यस्तै, उक्त दूरी एक घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पूरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जित्नुभएको छ ।

त्यसैगरी एक घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल हुनुभयो । महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दूरी एक घण्टा २३ मिनेट १८ सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।

भारोत्तोलन
नेपाल पुलिसकी विद्या राईले भारोत्तोलनमा कीर्तिमान राख्नुभएको छ । उहाँले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जित्नुभयो । ८७ केजी माथि तौल समूहमा उहाँले स्न्याचतर्फ ७६ र क्लिन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जित्नुभयो । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले एक केजी बढी भार बहन गर्नुभयो ।

महिला ८७ केजी तौल समूहमा एपिएफकी निशा बलालले स्वर्ण पदक जित्नुभयो । उहाँले स्न्याचमा ६२ र क्लिन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाउनुभयो ।

प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जित्नुभयो ।

आर्चरीमा गण्डकी अग्रस्थानमा
आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीका तीन विधाका कुल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो भएको छ ।

गण्डकीले थप दुई रजत जित्दा बागमतीले भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपिएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टाण्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टाण्डर्ड वुमन टिम र स्टाण्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्सतर्फ स्वर्ण हात पारेको हो । रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो सेटले जित्यो । अशिम शेरचन, गंगा कुँवर, देउ रोक्का, लुद्र रानामगरको समूहले पुसिलको टिमलाई ३-० स्कोरले जितेको हो । तेस्रो स्थानमा रहेको एपिएफले सुदूरपश्चिमलाई पराजित गर्‍यो ।

टेनिसमा गण्डकीलाई स्वर्ण
टेनिसको ‘मेन्स डबल्स’ विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जित्यो ।

गण्डकीका खड्का नेपालको पहिलो वरीयताका खेलाडी हुनुहुन्छ भने सेनाका खनाल द्वितीय वरीयतामा हुनुहुन्छ । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४-६ मा गुमायो । निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०-८ अंकले नतिजा आफ्नो पक्षमा ल्यायो । यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ ।

सफ्ट टेनिस
सफ्ट टेनिसतर्फ ‘मिक्स डबल्स’ फाइनल खेलमा प्रदेश १ ले स्वर्ण पदक जितेको छ । टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले पाँच-दुईको सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।

प्रतियोगितामा बागमतीले रजत पदकमा चित्त बुझाउनुप¥यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?