नेपाली चलचित्रमा महिला निर्देशक, कति सफल कति असफल

Read Time = 12 mins

काठमाडौं । पछिल्लो समय नेपाली सिने उद्योगमा केही फरकखालका चलचित्र देखापरे पनि नायक र नायिका विनाको चलचित्र कल्पना गरिएको छैन । एक विशेष पुरुष पात्र, जो सबैलाई परास्त गर्छ र अर्को एक महिला पात्र, जो उसको निकै नजिक हुन्छ । यसैको सेरोफेरोमा अन्य अवयवलाई लिएर नेपाली चलचित्र बन्ने ‘ट्रेन्ड’ नै बसेको छ ।

नेपाली चलचित्रले पाँच दशकको यात्रा पूरा गर्दा धेरै खोला, नाला र भंगालाहरू तरेको छ । हरेक वर्ष सयौंको संख्यामा नेपाली चलचित्र बन्ने भए पनि केही औँलामा गन्न सकिने चलचित्रले मात्रै सफलताको स्वाद चाख्न पाएका छन् । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणले केही सुस्त बनेको नेपाली चलचित्र फेरि जुमुराउने तरखर गर्दै छ । पछिल्लो समय आएको चलचित्र ‘प्रेम गीत-३’ले हाम्रो चलचित्रको चौघेरा नाघेर बाहिर निस्केको छ । यसको सुखद् सुरुवात पनि भयो । नेपाली चलचित्र इतिहासमा विश्वका धेरै हलमा एकपल्ट पदर्शन हुने चलचित्रको रेकर्ड पनि यसले राख्न सफल भयो भने व्यावसायिक सफलता पनि हासिल गर्‍यो ।

धेरै चलचित्र निर्माण भए पनि सीमित चलचित्रले मात्रै व्यावसायिक सफलता प्राप्त गर्न सफल भएको देखिन्छ । हुनु त हामीकहाँ मात्र नभएर यस्तो अन्य देशमा पनि देखिने गर्छ । नेपाली चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्न नसक्नुमा उत्कृष्ट कथावस्तु, उच्चतम प्रविधि र यसका जनशक्ति नहुनु नै हो तर केही राम्रा भनिएका चलचित्रले पनि लगानी उठाउन नसकेका उदाहरण थुपै्र छन् ।

यसै प्रसंगमा नेपाली चलचित्रको क्षेत्र व्यापाक र विस्तार हुँदै जाँदा महिला निर्देशक पनि सशक्त रूपमा देखापरेका छन् । त्यसो त चलचित्र निर्देशक समाजको अध्यक्षमा पनि महिला नै हुनुहुन्छ । रक्षा सिंह राणाले अहिले यसको नेतृत्व गर्दै आउनुभएको छ । सुचित्रा श्रेष्ठले यसको नेतृत्व गर्नुभएको थियो । सुचित्रा नेपालकै पहिलो महिला निर्देशक पनि हुनुहुन्छ । अहिलेसम्मको सार्वाधिक सफल चलचित्र ‘छक्कापञ्जा’, ‘छक्कापञ्जा-२’ र ‘छक्कापञ्जा-३’ लाई दीपाश्री निरौलाले निर्देशन गर्नुभएको हो । उहाँले ‘तीतोसत्य’ हाँस्यव्यंग्य टेलिशृंखलाको सहायक निर्देशन पनि गर्नुभएको थियो ।

एउटा सफल चलचित्रका लागि निर्देशकको भूमिका महत्वपूर्ण हुन्छ । निर्देशक चलचित्रको ‘टिम क्याप्टेन’ हो । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकले निर्देशन गरेका चलचित्रले व्यावसायिक सफलता पाउँदै गएका छन्, जुन आफैँमा एउटा सकारात्मक विषय हो ।

यो क्षेत्रमा महिला निर्देशक संख्या बढ्दै गइरहेको छ । पहिलेका महिला निर्देशकहरूले निर्देशन गरेका चलचित्रले खासै चर्चा कमाउन सकेका थिएनन् । सावित्री खत्री र सम्झना उपे्रती रौनियारले निर्देशन गर्नुभएको चलचित्र ‘काफल पाक्यो’ र ‘फागु’ले राम्रै चर्चा कमाएका थिए । भलै यी चलचित्रले व्यावसायिक सफलता भने त्यति प्राप्त गर्न सकेनन् । सम्झना उप्रेतीबाट निर्देशित ‘फागु’ उहाँको दोस्रो चलचित्र हो । योभन्दा पहिले उहाँले ‘मेघा’ चलचित्र निर्देशन गर्नुभएको थियो ।

नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठको पहिलो चलचित्र ‘प्रेमयुद्व’ हो । उहाँले योङ एसिया टेलिभिजनका लागि थुप्रै डकुमेन्ट्री पनि निर्माण गर्नुभएको छ । त्यस्तै उहाँले ‘सहारा’, ‘समर्पण’, ‘संकल्प’, ‘सम्बन्ध’ जस्ता टेलिशृंखलाको लेखन र निर्देशन पनि गर्नुभएको छ । त्यसो त नेपाली चलचित्रमा एक्लै चलचित्र चलाउने हिम्मत र क्षमता राख्ने रेखा थापाले पनि चलचित्र ‘हिम्मतवाली’ निर्देशन गर्नुभयो । यो चलचित्रले राम्रै चर्चा पनि पायो । रेखाले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘मालिका’ थियो । यतिबेला रेखा राजनीतिमा सक्रिय भएर लाग्नुभएको छ । उहाँ आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा राप्रपाको तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनुभएको छ । उहाँले मोरङ क्षेत्र नं-३ बाट उम्मेदवारी दिनुभएको हो ।

चलचित्र ‘तँ, म र ऊ’ लाई लक्षु गौतमले निर्देशन गर्नुभएको थियो । चलचित्र राम्रै भए पनि उहाँको पहिलो निर्देशन ‘तँ, म र ऊ’ ले भने खासै व्यावसायिक सफलता पाउन सकेन । ‘मैले चलचित्र राम्रै बनाएकी थिएँ तर व्यावसायिक सफलता पाउन भने सकेन,’ उहाँ बताउनुहुन्छ । सबै राम्रा चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्छन् नै भन्ने छैन लक्षु भन्नुहुन्छ । उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘ब्ल्याक इयर’ हो ।

नेपालकै महिला सिनेमेटोग्राफर भएर चर्चा कमाउन सफल सवनम मुखिया पनि चलचित्र निर्देशनमा हुनुहुन्छ । उहाँ नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्य रहेर पनि कुशल कार्य सम्पादन गरिरहनुभएको छ । २०७८ असार २१ मा नेपाल टेलिभिजनको सञ्चालक पदमा नियुक्त मुखियालाई एक वर्ष तीन महिना नबित्दै सरकारले असोज २ गते स्पष्टीकरणसमेत नसोधी बर्खास्त गर्ने निर्णय गरेको थियो तर सर्वाेच्च अदालतले मुखियालाई हटाउने नेपाल सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उहाँ फेरि कार्यसम्पादनमा जुटनुभएको छ ।

सवनमले निर्देशन गर्नुभएका चलचित्र ‘जुविनाइल’, ‘लखपति माग्ने’ जस्ता रहेका छन् । ‘निर्देशनको काममा महिला पुरुष भन्ने नै हुँदैन हामीले कथावस्तु र स्क्रिप्टलाई कत्तिको न्याय गर्न सकेका छौँ भन्ने हो,’ सवनम भन्नुहुन्छ ।

त्यस्तै, नेपाली चलचित्रमा महिला निर्देशका रूपमा सशक्त अर्को नाम हो- दीपा बस्नेत । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘अन्तराल’ थियो । निर्देशन गरेका पहिलो चलचित्रबाट नै उहाँले अवार्ड हात पार्न सफल हुनुभयो । उहाँ चलचित्र अन्तरालबाटै ‘बेष्ट फिल्म डाइरेक्टर’, नवनिर्देशक र जुरी अवार्ड पाउन सफल हुनुभएको थियो । तराई टिभीमा दृश्य सम्पादन, विभिन्न म्युजिक भिडियोमा स्क्रिप्ट राइटर, निर्देशन र सम्पादनको कार्य उहाँले गर्दै आउनुभएको छ । उहाँबाट निर्देशित चलचित्र ‘श्री ५ अम्बरे’ले पनि धेरैतिरबाट तारिफ बटुल्न सफल भएको थियो ।

लामो समय नेपाली सिनेमामा काम गर्नुभएकी चर्चित अभिनेत्री झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर’का सिक्वेलहरू ले पनि राम्रै चर्चा बटुल्न सफल भएका छन् । ‘ए मेरो हजुर-४’ सम्म आउँदा यो चलचित्रका सिक्वेललाई दर्शकले राम्रै साथ दिएका छन् । नेपाली महिला चलचित्र निर्देशकमा अर्को नाम हो- रक्षा सिंह । उहाँले १८ वर्षको उमेरदेखि सम्पादनको कार्य गर्दै आउनुभएको थियो । लामो समयसम्म सम्पादनको काम गरेपछि उहाँले निर्देशनमा हात हाल्नुभएको हो । जुनबेला उहाँले सम्पादनको कार्य गर्नुहुन्थ्यो, त्यो समयमा यो क्षेत्रमा अन्य महिला थिएनन् । सम्पादन गर्ने उहाँ एक्ली महिला हुनुहुन्थ्यो । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘द गेम’ थियो । प्रदर्शनअघि निकै हल्ला भए पनि ‘द गेम’ ले व्यापारिक नतिजा भने राम्रो दिन सकेको थिएन ।

त्यस्तै निर्देशक नीलु डोमा शेर्पाले निर्देशन गर्नुभएको चलचित्र हो- ‘हाउ फन्नी’ । उहाँको हृदयघातका कारण निधन भएको पनि चार वर्ष जति पुग्यो होला । यस्तै, समुन्द्र भट्टले पनि चलचित्र निर्देशन गर्नुभएको छ । उहाँले निर्देशन गरेको चलचित्र ‘गुलाबी’ यतिबेला छायांकनको क्रममा रहेको छ । सब्बु सुवेदी र अनिला खड्काले निर्देशन गरेको चलचित्र हो- ‘चलेछ बतास सुस्तरी’ । यस्तै संगीता श्रेष्ठले पनि डकुमेन्ट्री तथा चलचित्र निर्देशन गर्नुभएको छ । उहाँले निर्देशन गरेको चलचित्र ‘कथा काठमाडौं’ले राम्रै चर्चा पायो । उहाँले निर्देशन गरेको डकुमेन्ट्री ‘आइसक्रिम’ले अन्तर्राष्ट्रिय अवार्डहरू चुम्न पनि सफल भयो ।

त्यस्तै कोरियोग्राफर हुँदै निर्देशनमा अघि बढनुभएकी निर्देशक हुनुहुन्छ रेनशा वान्तवा राई । रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशन यात्रा सुरु गर्नु भएको हो । यो चलचित्रले दर्शकको मन जित्यो । रेनशाको कामको पनि प्रशंसा भयो ।

केही नायिकाहरूले चलचित्र निर्देशन गर्ने भनेर समाचार सार्वजनिक भए पनि अहिलेसम्म उनीहरूले कुनै चलचित्र निर्देशन भने गरेका छैनन् । एउटा सफल चलचित्रका लागि निर्देशकको भूमिका महत्वपूर्ण हुन्छ । निर्देशक चलचित्रको ‘टिम क्याप्टेन’ हो । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकले निर्देशन गरेका चलचित्रले व्यावसायिक सफलता पाउँदै गएका छन्, जुन आफैंमा एउटा सकारात्मक विषय हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?