बाँके क्षेत्र नं ३ (क) मा नयाँ ट्वीस्ट, एउटै पार्टीका एउटै क्षेत्रमा दुई उम्मेदवार

हिमालय टाइम्स
Read Time = 6 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाँकेको क्षेत्र नं ३ मा नयाँ ट्वीस्ट देखिएको छ । प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेसँगै बाँकेको ३ नं क्षेत्रअन्तर्गत (क) मा माओवादी केन्द्रकै दुईजना उम्मेदवार एउटै पदका लागि चुनावी मैदानमा देखिएका हुन् ।

यसअघि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल चुनावी मैदानमा हुनुहुन्थ्यो । सुनार माओवादी केन्द्रमा प्रवेश गरेसँगै माओवादीभित्र थप विवाद सृजना भएको छ । माओवादीमा सुनारको प्रवेशसँगै बाँके प्रदेशसभा ३ (क) को कम्युनिष्ट राजनीतिले नयाँ मोड लिएको हो । अहिले माओवादी दुई कित्तामा विभाजन भएको छ भने दुवै जनाको उम्मेवारी पनि कायमै रहेको छ ।

बाँके-३ मा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी छ । प्रदेश (क)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल र (ख)मा कांग्रेसका बादशाह कुर्मी उम्मेदवार हुनुहुन्छ । गठबन्धनमा नेकपा (एस)ले भाग नपाएको भन्दै बाँके ३ (क)बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुनारको दलबदलले माओवादी केन्द्रभित्र ठूलो असन्तुष्टि उत्पन्न गरेको छ ।

लामो समयसम्म नेकपा एमालेमा रहेर राजनीतिक गर्नुभएका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत भइसक्नु भएको छ । नेकपा एमालेबाट माधवकुमार नेपालको पार्टीमा जोडिनुभएका सुनार सोमबार नेकपा माओवादी पार्टीमा प्रवेश गर्नुभएको हो । सुनारले प्रतिनिधिसभा क्षेत्र नं ३ कांग्रेसको भागमा परेपछि प्रदेशसभा (क) बाट निर्वाचन लड्ने आकांक्षा राखेर पार्टीमा टिकटका लागि सक्रिय भएर लाग्नुभएको थियो तर सो क्षेत्र माओवादीका भागमा परेपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

पार्टीबाट उहाँको उम्मेदवारी कायमै रहेका बेला सोही पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँलाई अर्को पार्टीमा प्रवेश गराइँदा माओवादी समर्थक मात्र होइन गठबन्धनका अन्य निर्वाचनको मैदानमा रहेका नेताहरूमा समेत अन्यौलता छाएको छ ।

आफू गठबन्धनको आधिकारिक उम्मेदवार बन्ने गरी माओवादी केन्द्र प्रवेश गरेको नेता सुनारको दाबी छ । अर्कोतर्फ, इन्द्रप्रसाद खरेलले भने आफू गठबन्धनको आधिकारिक उम्मेदवार भएको बताउनुभएको छ । खरेल २०७४ सालमा सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । तत्कालीन माओवादी केन्द्रमा उहाँ नेता रामबहादुर थापा बादलनिकट मानिनुहुन्थ्यो । एमाले–माओवादी एकतापछि बनेको नेकपाको बाँके जिल्ला अध्यक्षको जिम्मेवारीसमेत उहाँले पाउनुभएको थियो ।

स्थानीय कमिटीबाट सिफारिसमै नपर्नुभएका नेता खरेलले बाँके ३ (क)बाट टिकट पाएपछि माओवादी केन्द्रभित्र तीव्र विवाद थियो । वडादेखि प्रदेश कमिटीका दर्जनभन्दा बढी नेता-कार्यकर्ताले खरेलको उम्मेदवारीप्रति विरोध जनाउँदै राजीनामा गरेका थिए । त्यसैको प्रतिक्रियास्वरुप स्वतन्त्र उम्मेदवारी दिनुभएका सुनारलाई पार्टी प्रवेश गराएर आधिकारिक उम्मेदवार बनाउने रणनीति देखिएको स्रोतको दावी छ । सुनारलाई माओवादी केन्द्रमा प्रवेश गराउन स्थायी कमिटी सदस्य पूर्णाकुमारी सुवेदी र खजुरा गाउँपालिका अध्यक्षसमेत रहनुभएका नेता डम्बर बिक ‘तुफान’को मुख्य भूमिका थियो । पार्टी प्रवेशमा अर्का नेता अशोक रोकाय पनि उपस्थित हुनुहुथ्यो । यी नेताहरूले आधिकारिक उम्मेदवारलाई हराउन चुनावको मुखमा बखेडा झिकेको आरोप खरेल पक्षको छ ।

एउटै पार्टीका दुईजना नेता एउटै पदका लागि निर्वाचन लड्न लागेपछि अब कसलाई कसरी भोट माग्ने भन्ने कार्यकर्तामाझ अन्यौलता देखिएको छ । यता, पार्टी माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पूर्णाकुमारी सुवेदीले पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने केही दिनमा टुंगो लगाउने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?