चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुन्छ : ओली

‘कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखेका हुन्’

हिमालय टाइम्स
Read Time = 5 mins

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारूढ नेपाली कांग्रेसको घोषणापत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाउनुभएको छ । झापा क्षेत्र नम्बर १ स्थित धुलाबारीमा बुधबार एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘कांग्रेसको घोषणात्रप नै भाडाका बुद्धिजीवीले लेखिदिएका हु्न् । त्यही घोषणापत्र उहाँहरूले नेपाली जनताबीचमा छर्नुहुनेछ’, उहाँले भन्नुभयोे, ‘त्यो कुनै कांग्रेसको घोषणापत्र होइन ।’

ओलीले यति लामो समय कांग्रेसले सरकारको नेतृत्व गर्दा कुनै समय राम्रो काम नगरेको पनि बताउनुभयो । ‘कांग्रेसले २३÷२४ वर्ष सरकारको नेतृत्व गर्दा एउटा राम्रो यो काम गर्‍यौँ भनेर देखाऊन्’, उहाँले भन्नुभयो, ‘हामीसँग सोधून्, हामी मन्त्र पढेजसरी हाम्रा काम देखाउन तयार छौँ ।’

ओलीले वृद्धवृद्धा, किशोर किशोरी, युवा र अशक्तका लागि कैयौँ काम गरेको बताउनुभयो । ‘सडक मार्गका लागि के गर्यौँ ? अलपत्रका लागि के गर्यौँ ? हामी काम देखाउँछौँ’, उहाँले भन्नुभयो, ‘किड्नीको परीक्षण र डाइलाइसिस निःशुल्क बनायौँ तर कांग्रेसले पो त्यसमा दाबी गर्छ । हामीसँग घोषणा छ मन्त्रिपरिषद्को निर्णय छ तर कांग्रेसले पो त्यसमा दाबी गरिरहन्छ ।’

ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने दाबी पनि गर्नुभयो । ओलीले भन्नुभयो, ‘मंसिर ४ को चुनावमा गठबन्धनलाई पत्तासाफ गर्नुपर्छ, एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ ।’ एमालेले प्रतिनिधिसभातर्फ १५० सिट जित्ने उहाँले बताउनुभयो । प्रत्यक्षतर्फ कम्तीमा १०० र समानुपातिकमा ५० सिट जित्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामी मिसन १५० मा छौँ, यसपटकको प्रतिनिधि सभामा एमालेले १५० सिट कम्तीमा जित्नेछ, कुनै गठबन्धनका छेस्काछेस्कीले एमालेलाई छेक्नेवाला छैन ।’

एमाले वचनको पक्का पार्टी भएको भन्दै अध्यक्ष ओलीले झापामा राप्रपा र अन्य ठाउँमा तालमेल गरेका ठाउँमा जसपाका उम्मेदवारलाई भोट दिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । अहिलेको सरकारको आयु एक महिना मात्र रहेको अध्यक्ष ओलीले बताउनुभयो । गठबन्धन सरकारको दिनगन्ती सुरु भएको उहाँले बताउनुभयो । देश बिगारेको दण्ड गठबन्धनवालाहरूलाई दिनुपर्ने र देश बनाउन एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । एमालेसँग सहकार्य गर्ने दलहरूको भविष्य राम्रो रहेको अध्यक्ष ओलीले बताउनुभयो । यसपटकको चुनावमा राप्रपालाई राष्ट्रिय पार्टी बनाउने र राष्ट्रिय पार्टी रहेको जसपाको अस्तित्व जोगाउने जिम्मा एमालेले लिने पनि उहाँले बताउनुभयो ।

झापा १ मा सूर्यमा भोट नहाल्ने राप्रपाका कार्यकर्ता रहँदैनन् : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताउनुभएको छ । धुलाबारीमा आयोजित एमाले-राप्रपा संयुक्त बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । झापा-१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुग्नुभएको थियो । त्यहाँ एमालेबाट अग्नि खरेल उम्मेदवार हुनुहुन्छ । एमालेले राजेन्द्र लिङ्देन, दीपक बोहरा र धवलशमशेर जबरालाई छाड्ने गरी राप्रपासँग तालमेल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?