कुरिलो खेतीबाट मनग्य आम्दानी

फाईल तस्बिर

रासस
Read Time = 3 mins

मध्यविन्दु । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगपालिका-३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आउनुभएको छ ।

बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताउनुभयो । अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताउनुभयो ।

पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उहाँले बताउनुभयो । “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडाैंलगायत शहरी क्षेत्रमा बढी रहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गर्नुभएको छ । यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताउनुभयो । भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उहाँले बताउनुभयो ।

सुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताउनुभयो । “बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “अहिले बारीबाट नै प्रतिकेजी रु चार सयका दरले बिक्री गर्दै आएको छु ।” कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?