बेलायतको अबको प्रधानमन्त्री को ?

Read Time = 3 mins

लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले नियुक्त भएको ६ हप्तामै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । आउँदो हप्ताको अन्त्यसम्ममा सत्तारुढ पार्टीका नेताले भावी प्रधानमन्त्रीको टुंगो लगाउनेछन् । त्यसबेलासम्म ट्रस सत्तामा कायम रहनुहुनेछ । बेलायतको इतिहासमा ४५ दिनमै राजीनामा दिनुभएकी उहाँ सबैभन्दा छोटो समय सत्तामा रहने प्रधानमन्त्री बन्नुभएको छ ।
गम्भीर आर्थिक संकट तथा नीतिगतरूपमा सोच्न नसकिने गरी लिएको ‘युटर्न’ का कारण ट्रस विवादित रहनुभयो । बोरिस जोन्सनले राजीनामा दिएपछि लामो प्रक्रिया पूरा गरेर ट्रस प्रधानमन्त्री बन्नुभएको थियो ।

तर, अब फेरि नयाँ प्रधानमन्त्रीको खोजीमा कन्जरभेटिभ (ट्रोय) पार्टीका नेता लागेका हुन् । प्रधानमन्त्री बन्न चाहने नेताले ट्रोयका कम्तीमा १०० सांसदको समर्थनमा मनोनयन दर्ता गर्नुपर्नेछ । यसको अर्थ ३५७ सांसद रहेको ट्रोयका तीन नेताले मात्रै उम्मेदवारी दिन सक्नेछन् ।

अहिलेसम्म कुनै नेताले पनि आफूले उम्मेदवारी दिने औपचारिकरूपमा बताएका छैनन् । तर, सम्भावित उम्मेदवारको सूचीमा यसअघि ट्रससँग पराजित हुनुभएका ऋषि सुनक, पेनी मोर्डन्ट, बोरिस जोन्सन, बेन वालस र किमी बाड्नोचसहितका नेताको नाम चर्चामा छ ।
कन्जरभेटिभ पार्टीका केही नेताहरूले सुनकलाई आफ्नो समर्थन रहेको बताइसकेका छन् । ट्रसमाथि प्रश्न गर्नुभएकी पेनीलाई पनि भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । यसअघि पनि उहाँ प्रतिस्पर्धामा हुनुहुन्थ्यो तर अन्तिम दुईमा पर्न सक्नुभएको थिएन ।

पूर्वप्रधानमन्त्री जोन्सनलाई पनि योपटक उम्मेदवारका रूपमा लिइएको छ । जोन्सनले गएको जुलाईमा राजीनामा दिनुभएको थियो । तर, ट्रसले राजीनामा दिएपछि उहाँलाई पुनः प्रधानमन्त्रीका रूपमा लिइएको हो ।

रक्षामन्त्री बेन वालसलाई पार्टीका केही सांसदहरूले सुरक्षित उम्मेदवारका रूपमा लिएका छन् । यस्तै, केमीलाई पार्टीभित्र तीव्रगतिमा चर्चा बटुल्दै जानुभएकी नेताका रूपमा लिने गरिएको छ । उहाँले पनि आउँदो प्रतिस्पर्धामा महत्व राख्ने बताइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?