सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण सिकाई गर्न सम्झौता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एण्ड वियोन्ड प्रा.लिबीच सम्झौता भएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो ।

आउँदो दुई बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । यसअन्तर्गत सामुदायिक विद्यालयहरूमा शिक्षण र सिकाईका लागि शिक्षकहरूको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् ।

कोड क्लब गठन गरेर कक्षा २ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ । यसरी काम गर्दा साइबर सुरक्षा सुनिश्चित गर्ने, गुगलको चिल्डे«न अनलाइन प्राइभेसी प्रोटेक्सन नियमअन्तर्गत मेल जारी गर्ने काम वियोन्डले गर्नेछ ।

सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीहरूको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने धारणा राख्नुभयो । सम्झौताका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, शैक्षिक रुपान्तरणका लागि गरिने क्रियाकलापबाट क्रमशः नतिजा दिँदै जाने धारणा राख्नुभयो ।

वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुंगानाले सिकारूलाई आवश्यक पर्ने सामग्रीमा आधारित दवाब सिर्जना नगरी क्रिटिकल र क्रियटिभ सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो । त्यसपछि उसले डिजिटल ट्रान्सफरमेसन, स्कूल म्यानेजमेन्ट, टिचर टे«निङ् लगायतका काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?