नेम्वाङको महाप्रस्थान र मृत्युपछिको महिमागान

शम्भु कोइराला
Read Time = 18 mins

नमागिएको सल्लाह :
‘नमागिएको सल्लाह’ स्तम्भमा ‘मृत्युपछि महिमागान गरिएका प्रदीप गिरिहरू’ लेखेको एक वर्ष भएछ । नेता सुवास नेम्वाङको मृत्युपछिको उहाँको महिमागानलाई दृष्टिगत गर्दा लाग्दछ उहाँ अरूभन्दा पृथक र महान नै हुनुहुन्थ्यो । एउटा त नेपाली संस्कार नै बनेको छ, बाँचुन्जेलसम्म खासै वास्ता नगर्ने मरेपछि महामानव बनाउन खोज्ने । अहिले धेरै गाली गरिएका नेताको भौतिक अवसान हुँदा पनि महामानव बनाउने शैलीमा श्रद्धाञ्जलि व्यक्त गर्नेको हतारो सामाजिक सञ्जालमा देखियो भने अन्यथा नमान्दा हुन्छ । यसलाई सकारात्मक रूपमा लिँदा नेपाली समाजको कृतज्ञताभाव भन्दा पनि हुन्छ ।

श्रद्धाञ्जलि व्यक्त गर्ने क्रममा सामाजिक सञ्जालमा मुख्य अनुच्छेदमा तल्लो स्तरको गालीगलौज गरेर अन्तिममा श्रद्धाञ्जलि लेख्ने गरेको पनि पाइयो । सुवास नेम्वाङकै हकमा पनि त्यस्तो देखियो । उहाँको जातजातिको पक्षमा नलाग्ने सोचलाई मन नपर्नेहरूले नकारात्मक टिप्पणी गरेर श्रद्धाञ्जलि लेखेको पाइयो ।

सबै नेताको मृत्यु हुँदा एउटै प्रकृतिको प्रतिक्रिया आउँदा वास्तवमा असल र खराब छुट्याउन कठिन अवस्था हुने भयो । नेपाली समाजमा कुनै पनि आबद्धताबाट पृथक भएर स्वतन्त्र मत व्यक्त गर्नेहरूको संख्या अति नै न्यून देखिने अवस्था छ । कोही मेयर बालेनले जे भने पनि जे गरे पनि अन्धभक्ति गर्नेहरूको राम्रै जमात देखियो । ओली बा र देउवा दाइको भक्ति गर्नेहरूले त भक्तिभावको हनुमान शैलीलाई पनि परास्त गरेर नयाँ नमुना देखाउलान् कि भन्ने जगजगी भइसकेको छ । नेताहरू देशमा लामो समयदेखि राजनीतिमा सिन्डिकेट सञ्चालन गरेर स्वदेशमा कुनै अवसर सिर्जना नगरी नेपाली युवालाई पलायन हुन प्रेरित गरिरहेका छन् ।

नेपालको राजनीतिमा सफलता प्राप्त गर्न धनबल, डनबल चाहिने परिस्थिति छ । अनि सबैभन्दा ठूलो त नेताको बफादार भक्त बन्नु हो, असल र विवेकी नेताको स्वभाव त्यस्तो भक्तिभाव प्रदर्शन गर्ने हुँदैन । यस्ता सादगी र विवेकी नेताले त्यस्तो बाटो समाउन नै चाहँदैनन् ।

उनीहरू मुलुकलाई वृद्धाश्रम बनाउने अर्थनीतिमा गौरवान्वित बनेको महसुस भइरहेको छ । असफल सावित भइसकेका अकर्मण्य नेताहरूलाई भक्तिभाव प्रदर्शन गरेर फाइदा लिने जमातले भोलि यस्ता नेताको भौतिक अवसानमा सामाजिक सञ्जालमा श्रद्धाञ्जलिको प्रायोजित ओइरो लगाउने सम्भावना नरहला भन्न सकिँदैन । यस्तो अवस्थामा सर्वसाधारण जनतामा सबै नेता उस्तै भन्ने भाष्य बन्ने परिस्थिति देखिँदैछ । तर, सुवास नेम्वाङ विशिष्ट क्षमताका भएको कारण सर्वत्र एक किसिमको स्तब्धता देखापरेको छ । यो आलेखमा नेम्वाङ अरू नेताभन्दा के कुरामा पृथक थिए, उनले मुलुकलाई के दिए, के राम्रा मानिस भगावानलाई पनि प्रिय हुन्छन् जस्ता विषयमा चर्चा गर्नेछौं ।

नेम्वाङप्रति शब्दाञ्जलि :
विसं २००७ सालदेखि राजनीतिक मुद्दाका रूपमा रहेको संविधानसभाबाट संविधान बनाउने कार्यभार नेम्वाङले समन्वयात्मक तबरले सफलरूपमा निर्वाह गरेका कारण कहिल्यै भूतपूर्व नहुने गरी संविधानको मर्यादाक्रममा नै संविधानसभा अध्यक्षको व्यवस्था गरिएको छ । नेपालका नेताहरू जनतालाई उकासेर क्रान्ति वा आन्दोलन गर्न सक्ने तर त्यसलाई संस्थागत गर्न नसक्ने आरोप खेप्दै आएका छन् । त्यस्तो आरोपबाट नेम्वाङको संविधानसभाको अध्यक्षको रूपमा निर्वाह गरिएको भूमिका नेताहरूका लागि रक्षा कवच बनेको छ । यद्यपि, नेताहरू राजनीतिक परिवर्तनलाई जनता जनार्दनको जीविकालाई सहज बनाउने अर्थनीति लागू गर्न पूर्णत असफल देखिएका छन् ।

देशमा कुनै भविष्य नदेखेर विदेशिने युवाहरूको लर्को दिनप्रतिदिन बढिरहेको यथार्थले माथिको भनाइलाइ पुष्टि गरिरहेको छ । यसको कारण सुवास नेम्वाङ र प्रदीप गिरि जस्ता ज्ञान, योग्यता र विवेक भएका व्यक्तित्वहरूलाई प्रमुख कार्यकारी पदमा पुग्न नसक्नु वा नदिनु हो । नेपालको राजनीतिमा सफलता प्राप्त गर्न धनबल, डनबल चाहिने परिस्थिति छ । अनि सबैभन्दा ठूलो त नेताको बफादार भक्त बन्नु हो, असल र विवेकी नेताको स्वभाव त्यस्तो भक्तिभाव प्रदर्शन गर्ने हुँदैन । यस्ता सादगी र विवेकी नेताले त्यस्तो बाटो समाउन नै चाहँदैनन् । त्यस्तो बाटो लाग्नु भनेको उनीहरूका लागि आफ्नो मौलिकता गुमाउनु हो ।

अहिले राजनीतिक परिदृश्यमा देखिएका नेताको प्रवृत्तिको कारण असल र विवेकी नेता कार्यकारी प्रमुखमा पुग्ने सम्भावना नै देखिँदैन । कुनै समय आफ्नै रणनीतिकारको रूपमा रहेका प्रदीप गिरिहरू देउवाको खासै सम्झनामा बसेनन् भने राष्ट्रपतिको रूपमा एमालेको उम्मेदवारले जित्ने अवस्था रहँदासम्म ओलीको खल्तीभित्रका उनका भक्तहरूलाई अगाडि सारिएको थियो । जब एमालेको उम्मेदवारले कुनै पनि अवस्थामा जित्ने सम्भावना थिएन, त्यसबेला मात्र सुवासको नाम अगाडि सारियो । त्यो पनि उनको व्यक्तित्वले केही भोट तलमाथि हुनसक्ला कि भन्ने अपेक्षामा । अहिले पनि सरकारी लाभको पद पाउँनेहरूमा पार्टी संस्थापनको भक्ति गर्नेकै बाहुल्य छ ।

दुई कार्यकाल संविधानसभा अध्यक्ष बनेका सुवासले जहाँ-जहाँ आफूले काम गर्ने अवसर पाए त्यहाँ आफ्नो सुवास छोडेर गए । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम क्षेत्र नं-२ बाट निर्वाचित नेता सुवासलाई नेता कार्यकर्ता सबैले मृदुभाषी, शालीन र समन्वयकारी नेताको रूपमा चित्रण गरेका छन् । वास्तवमै उनको उच्च स्तरको बौद्धिकताले उनलाई फलेको वृक्षको हाँगो जस्तो बनाएको थियो । नेपालका अधिकांश अल्पज्ञानी नेताहरूमा नपाइने नम्रता र शालीनताले उनलाई आभूषणको रूपमा सुशोभित गरेको महसुस हुन्थ्यो ।

मृत्युपछि देवत्वकरण :
नेपालमा विशिष्ट प्रतिभा भएका नेताहरूलाई जीवित भएको अवस्थासम्म खासै वास्ता नगर्ने तर मृत्युपश्चात् भने देवत्वकरण गर्ने परम्परा जस्तो बनेको छ । बाहिर संस्थागत जस्तो देखिए तापनि ओलीको एकल निर्णयको कारण साठी किलो सुन प्रकरणमा प्रतिनिधिसभा लामो समय अवरुद्ध बन्यो । सुवास नेम्वाङले आफ्नो विवेकले भने बमोजिम एउटा कार्यक्रममा त्यस्तो अवरोधलाई असंवैधानिक भनेर सार्वजनिक रूपमा मन्तव्य व्यक्त गरे । यसको कारण नेता ओली असन्तुष्ट बन्नु अनौठो भएन । त्यसको बदला लिन ओलीले नेम्वाङलाई लक्षित गरेर उहाँहरूले तयार गरेको प्रतिवेदनलाई यस्तो पनि प्रतिवेदन हुन्छ भनेर सार्वजनिक रूपमा अपमानित गरेको समाचार बाहिरिएको धेरै दिन भएको छैन ।

कर्णकटु बोल्न माहिर वाक्पटु ओलीको अपमान गर्ने व्यवहारलाई पनि उनले शालीनतापूर्वक जवाफ दिएका थिए । ओलीजस्ता स्वाध्याय गरेका नेताले नेम्वाङजस्तो दिग्गज नेतालाई अपमानित गरेको परिस्थिति सेलाउन नपाउँदै उनको भौतिक अवसानपछि मीठा शब्दको प्रयोगले खासै अर्थ राख्दैन । त्यसो त ओलीको उनीप्रतिको गुनासो दुईपटक प्रतिनिधिसभा विघटनदेखिको हो भन्ने चर्चा सुनिएको हो । सार्वजनिक रूपमा नआए पनि ओलीको विघटनलाई असंवैधानिक हुन्छ भन्ने सल्लाह आन्तरिक बैठकहरूमा दिएको भन्ने विषय सार्वजनिक भएको थियो, यद्यपि, सार्वजनिक रूपमा उनको भनाइ बाहिर आएन । नेम्वाङ जस्तो संविधानको मर्म थाहा भएको नेताले असंवैधानिक ओलीको कदमको सार्वजनिक रूपमा विरोध नगरेकोमा उनको आलोचना नभएको पनि होइन ।

जब एमालेको उम्मेदवारले कुनै पनि अवस्थामा जित्ने सम्भावना थिएन, त्यसबेला मात्र सुवासको नाम अगाडि सारियो । त्यो पनि उनको व्यक्तित्वले केही भोट तलमाथि हुनसक्ला कि भन्ने अपेक्षामा । अहिले पनि सरकारी लाभको पद पाउनेहरूमा पार्टी संस्थापनको भक्ति गर्नेकै बाहुल्य छ । 

उनी के कारणले दबाबमा परेर विवेक प्रयोग गर्न सकेनन् त्यसको कारण विस्तारै खुल्दै जाला । यो घटनाले नेम्वाङको व्यक्तित्वलाई नकारात्मक रूपमा प्रभावित नगरेको भने होइन । यसैगरी, पहिलो संविधानसभालाई आफ्नो काम गर्न नसकेपछि विघटन गरिएकोमा उनको आलोचना हुनेगरेको छ । जेजसो भए पनि, कुनै आर्थिक घोटालामा नाम नजोडी आफ्नो छविलाई स्वच्छ राख्ने नेपालका दुर्लभ नेताहरूमा उनको नाम अग्र पंक्तिमा आउँछ । यसले नै उनलाई अन्य नेता भन्दै फरक हैसियतको बनाएको छ ।

राम्रा मान्छे भगवानका प्यारा :
भनिन्छ, राम्रा मानिसहरू भगवानका पनि प्यारा हुन्छन् । यो भनाइमा सत्यता छ त ? बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, मदन भण्डारीलगायतका विशेष प्रतिभा भएका व्यक्तिहरूको अल्पायुको चर्चा गर्दा सत्यमोहन जोशी, कविवर माधव घिमिरे जस्ता शताब्दी पुरुषहरूलाई पनि बिर्सन मिलेन । वैश्विक रूपमा हेर्दा मदर टेरेसा, नेल्सन मन्डेला, जिमी कार्टर जस्ता व्यक्तिहरूको दीर्घायुले राम्रा मानिस भगवानका पनि प्यारा हुन्छन् भन्ने भनाइको खण्डन गर्दछ । नेता सुवासको सन्दर्भमा पनि यो विषय चर्चामा आएको छ । आउँन सक्छ तर कुनै पनि वैज्ञानिक अनुसन्धानले यो मान्यतालाई पुष्टि गर्ने तथ्य फेला पार्न सकिएको छैन ।

को हो राम्रो मान्छे ? यो प्रश्न पनि सजिलो छैन । सबैका फरक हेराइ हुन्छन्, कसैलाई राम्रो लागेको मानिस अर्कोलाई नराम्रो लाग्न सक्दछ । हाम्रो जस्तो दलगत स्वार्थले विवेकलाई बन्धक बनाएको समाजमा त झनै कठिन छ । असल मानिसको चर्चा गर्दा राजा शिविको कथा भन्ने गरिन्छ । चिलले लखेट्दै आएको हाँसले राजा शिवि छेउ आएर सहयोगको याचना गर्दछ । राजा शिविले आफ्नो दयालु स्वभावको कारण उसलाई रक्षा गर्दछन् । चीलले राजासँग आफू भोकाएको अवस्थामा रहेको र राजाले आफ्नो खाना हरण गरेको कुरा बताउँछ । राजा शिविले हाँसको बराबर परिमाणको मासु उसलाई दिने बताउछन् र उनले आफ्नो तिघ्राको मासु दिएर चिललाई चित्त बुझाउँछन् । यो त काल्पनिक कथा हो । कथामा जे पनि सम्भव देखिन सक्छ तर वास्तविक जीवनमा कठिन छ । वास्तविक जीवनमा सम्भव हुने किसिमका असल मानिसका गुणको बारेमा चर्चा गरौं । विश्वासिलो, भरपर्दो, सकारात्मक सोच भएको, इमानदार, सहयोगी र उच्च नैतिक आचरण भएको व्यक्तिहरूलाई असल मानिस भन्न सकिन्छ ।

अरूलाई हौसला प्रदान गर्ने, मिजासिलो, अरूलाई महत्वपूर्ण देख्ने, सहयोगी, प्रतिफलको आशा नगर्ने, शालीन, समानुभूति भएको, कृतज्ञ, सजिलै साथी बनाउने स्वभाव भएको, सुखदुःखमा समान, स्वीकार्यता भएको, आफ्ना कमजोरीलाई सुधार्न तत्पर, निष्पक्ष, निस्वार्थ, मायालु, उसको आगमनमै सकारात्मक ऊर्जा सञ्चार भएको महुहुने किसिमको व्यक्तिलाई असल मानिस भन्न सकिन्छ । यी सबै गुण कल्पनामा तयार गरिएका भगवानमा त पाउन सकिँदैन भने एक जना मानिसमा यी गुणको खोजी गर्नु उपयुक्त हुँदैन । मानिस काम, क्रोध लोभ, मोहबाट घेरिएको हुन्छ । यी समस्याबाट मुक्त भएर असल मानिस बन्न सजिलो छैन । असजिलो कामलाई सजिलो बनाउँनु नै असल मानिसको विशेषता हो । आफ्ना र परिवारका आधारभूत आवश्यकता पूरा गरेर महान् र असल बाटोमा लाग्न सजिलो भने छैन । कसैले आफ्नो निजी जीवन, आफ्नो परिवारलाई वास्ता नगरेर असल र राम्रो बन्ने कोसिस गरेका छन् भने कसैले आफू र घरपरिवारलाई व्यवस्थापन गरेर असल मानिस बन्ने मार्गमा लागेका छन् । नेम्वाङले आफ्नो घरपरिवार पनि व्यवस्थित गरेका थिए र समाजका लागि पनि केही दिने मार्गमा लागेका थिए । उनले राजनीतिमा केही हदसम्म निष्ठाको भावनाको सञ्चार गराएका छन् । यद्यपि उनी आलोचनाबाट मुक्त भने छैनन् ।

सामान्यतः कसैलाई पनि राजा शिविजस्तो असल बन्न सम्भव छैन । तर, स्वार्थ प्रधान वर्तमान समाजमा सार्वजनिक हितका लागि सोच्नु, त्यस अनुसारको व्यवहार गर्नु, परोपकार पुण्याय पापाय परपीडनम् भन्ने भावनाको सञ्चार गराउन सक्नु, दलीय र जातिगत जस्ता संकीर्णताबाट माथि उठ्नु अहिलेको सन्दर्भमा असल मानिस बन्नु हो । नेता सुवासले संविधानसभाको अध्यक्षको रूपमा संविधान घोषणाको समयमा भनेको विषयले अहिले पनि नेपाली राजनीतिलाई पिरोलिरहेको छ । संविधान जति नै राम्रो भए पनि यसको कार्यान्वयन र देश सञ्चालकको विवेकमा निर्भर रहन्छ भन्ने सन्दर्भ सधैं मननयोग्य रहनेछ । नेपाली समाजमा असल र विवेकी नेताको पहिचान र छाप छोड्न सफल नेता सुवासचन्द्र नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?