ज्याकलिनलाई गिरफ्तार नगर्नु : अदालत

Read Time = 3 mins

मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिजले राहतको महसुस गर्नुभएको छ । अदालतले गिरफ्तार नगर्न आदेश दिएसँगै उहाँले राहतको महसुस गर्नुभएको हो । सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड ‘मनी लन्ड्रिङ’ मुद्दामा फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित हुनुभएको थियो । बयान दिन उपस्थित उहाँलाई अदालतले आगामी सुनुवाइसम्म गिरफ्तार नगर्न आदेश दिएको हो । यो मुद्दाको आगामी सुनुवाइ १० नोभेम्बरमा हुनेछ ।

अदालतले प्रवर्तन निर्देशनालय (इडी)लाई ज्याकलिनको जमानत याचिकामाथि जवाफ दिन भनेको थियो । इडीले भने जवाफ पेस गर्नका लागि समय मागेको छ । अदालतले ज्याकलिनको वकिललाई आफ्नो चार्जसिटको कपी सबै आरोपीलाई दिएको छ कि छैन भनेर सोधेको थियो । जवाफमा वकिलले आफूलाई इडीले अदालतमा दिने भने पनि हालसम्म नपाएको बताएका थिए ।

सुकेश हाल जेलमा छन् । सुकेशमाथि कैयौँ व्यक्तिलाई ठगेको आरोप छ । गत १७ अगष्टमा इडीले चार्जसिट दर्ता गराएको थियो । जसमा ज्याकलिनलाई पनि २०० करोडको रकम असुलीमा आरोपी पाइएको थियो । यसमा कैयौँ साक्षी र प्रमाणलाई आधार बनाइएको थियो । यसपछि अदालतले उहाँलाई पत्र पठाएको थियो । आफूमाथि आरोप लागेपछि ज्याकलिनले वकिलमार्फत जमानतको याचिका दर्ता गर्नुभएको थियो ।

यो मुद्दालाई लिएर इडीले कैयौँपटक ज्याकलिनमाथि सोधपुछ गरेको छ । सोधपुछमा आफूले सुकेशसँग विवाह गर्न चाहेको खुलासा गर्नुभएको थियो । यसअघि दिल्ली पुलिसको आर्थिक अपराध शाखाले पनि ज्याकलिनसँग १५ घण्टा सोधपुछ गरेको थियो ।

मिस युनिभर्स श्रीलंकासमेत रहनुभएकी ज्याकलिन चलचित्रमा अभिनय अगाडि टिभी रिपोर्टर हुनुहुन्थ्यो । उहाँको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेसनको अध्यायन गर्नुभएकी उहाँले २००९ मा बलिउड डेब्यु गर्नुभएको थियो ।

ज्याकलिनको पहिलो हिट चलचित्र ‘मर्डर २’ थियो । यो चलचित्रपछि बलिउडमा चर्चित हुनुभएकी उहाँ ‘हाउसफुल २’, ‘रेश ३’ र २०१४ मा सलमान खानको साथ ‘किक’ मा देखिनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?