रुमको स्लेट र जडिबुटीलाई बजारको अभाव

हिमालय टाइम्स
Read Time = 3 mins

म्याग्दी । घर छाउने ढुङ्गा, स्लेट र जडिबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको वेवास्ताका कारण भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुङ्गा,स्लेट र औषधीजन्य जडिबुटीको खानी नै भए पनि त्यबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन ।

गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेको छ । सो ढुङ्गा खानीलाई व्यवस्थित रुपमा संचालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले बताउनुभयो ।

‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ। प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन’ रोकाले भन्नुभयो ।
रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भएपनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

रुम स्लेट र जडिबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । यहाँ रहेका सम्पदाहरुको पहिचान र व्यवस्थापन गरी तिनीहरुलाई स्थानीय तहको आयसंग जोड्ने प्रयास हुनुपर्ने उहाँले बताउनुभयो ।
केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ,काँस्की,स्याङ्जा,अर्घाखाँची लगाएतका जिल्लाका विभिन्न गाउँहरुबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । तर हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दी बाहेक अन्य जिल्लाहरुबाट माग आउन छोडेको विगत ४० वर्षदेखि खानीबाट ढुङ्गा निकाल्दै आउनुभएका ७२ वर्षिय छेमबहादुर विकले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?