युवालाई लागूऔषध प्रयोगबाट जोगाउन सामूहिक प्रयास जरुरी : गृहमन्त्री

Read Time = 7 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिनुभएको छ ।

लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने जनाउँदै गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताउनु भयो । उहाँले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाउनु भयो ।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सोमबार भैरहवामा आयोजित रुपन्देहीमा क्रियाशील रोटरी क्लबहरुसँगको छलफलमा बोल्दै युवाहरुलाई कुलतबाट जोगाउन र आगूऔषधको नियन्त्रणमा सरकारसँगै सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

‘तीनै तहका सरकारले आफ्नो तहबाट काम गरिरहेका छन्, यसमा रोटरी जस्ता सामाजिक संघसंस्थाहरुको साथसहयोगले लागूऔषधको दुव्र्यसनीलाई निर्मूल पार्न सहयोग पुग्छ’, उहाँले भन्नुभयो ‘रुपन्देहीका धेरै रोटरी लगायतका सामाजिक संघसंस्थाले यस क्षेत्रमा काम पनि गर्नुभएको छ, आगामी दिनमा पनि गर्दै जानुहोला । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

गृहमन्त्री खाँणले युवालाई आफ्नो जीवन आफै वर्वाद पार्नु हुँदैन भनेर सचेत गराउनुपर्नेमा जोड दिनुभयो । सरकारले युवा लक्षित धेरै कार्यक्रमहरु ल्याएको र आउँदा दिनमा पनि ल्याउने बताउँदै उहाँले कुलतबाट टाढा रहन सबैलाई अपिल गर्नुभयो ।

‘युवाहरुले नयाँ योजना बनाउने, क्रियटिभ काम गर्ने र समाज, राष्ट्र निर्माणमा योगदान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘जीवनको उर्जावान र केही गरेर समाज तथा राष्ट्रमा स्थापित हुने उमेरमा कुलतमा फसियो भने राम्रो हुँदैन, घरपरिवार र राष्ट्रकै लागि पनि ठीक ठहरिँदैन । त्यसैले युवा उर्जावान हुनुपर्छ । नेतृत्वकर्ता बन्नुपर्छ ।’

उहाँले सुरक्षा निकाय, सरकारका विभिन्न निकायले लागूऔषध नियान्त्रण, रोकथाम र सचेतनाका क्षेत्रमा काम गरिरहेको बताउनु भयो । सरकारी निकायलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लागूऔषध रोकथाममा सरकारले काम गर्ने गृममन्त्री खाँणले प्रतिबद्धता जनाउनु भयो । लागूऔषध जस्तो घरपरिवार, समाज, राष्ट्र र कानूनले नै बर्जित गरेका कुराहरुमा युवापुस्तादेखि कोही पनि नागरिक लाग्न नहुनेमा उहाँले जोड दिनुभयो । समाज परिवर्तनको सम्बाहक युवाहरुले हरेक क्षेत्रलाई अग्रगतिमा अगाडि बढाउन काम गर्नु पर्ने गृहमन्त्री खाँणको भनाइ छ ।

उहाँले युवाहरु रोटरी जस्ता सामाजिक संस्थामा लागि समाज परिवर्तमान अगाडि बढ्ने, क्षमता विकास गर्ने, उद्यमशील बन्नुपर्ने सुझाव दिनुभयो । यस्तो काम गरे युवाहरु समाजमा स्थापित हुने जनाउनु भयो । खाँणले रोटरी र रोट्रयाक्ट क्लबहरुले स्वास्थ्य, शिक्षा, समाजसेवा, विपदमा सरकारसँग हातेमालो लगायत थुप्रै क्षेत्रमा प्रशंसनीय काम गरेको बताउनु भयो । यस्ता संस्थाहरुसँग हातेमालो गरेर सरकार काम गर्न तयार रहेको उहाँले बताउनु भयो ।

यस्तै, नेपाल महिला संघ बुटवल उपमहानगरपालिका–१५ ले सोमबार सेमलारमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने जनाउनु भयो ।

उहाँले लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताउँदै भन्नुभयो, ‘अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने छ’ ।

कर्णालीबासी, दलित, महिला, जनजाति र मधेसीको हक अधिकारका बारेमा संसदमा वकालत गर्न कानुनमै उनीहरुको निश्चित सिट छुट्टाइएकाले संविधान सभाबाट जारी संविधान समावेशीताको हकमा उत्कृष्ट रहेको खाँणले दावी गर्नुभयो ।

कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरिएको थियो । समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गर्नुभयो ।

भैरहवामा भएको कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ (क) का उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई शहरी क्षेत्रको साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?